काठमाडौं । खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा व्यवसायमा काम गर्दा प्राप्त हुने अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्तीबाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।
यस रणनीतिक साझेदारीले विदेशबाट हुने भुक्तानीमा सहजता, विश्वव्यापी पहुँच, रियल–टाइम भुक्तानी निकासा तथा अन्तरदेशीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने कम्पनीले जनाएको छ ।
यसका लागि विदेशी सेवामा काम गरेको रकम पाउन खल्ती एपबाटै ‘भुक्तानी अनुरोध’ पठाउन सकिने छ । अन्तर्राष्ट्रिय कम्पनी तथा भुक्तानी बाहकले स्ट्राइप गेटवे मार्फत एसीएच, सेपा, भिजा, मास्टरकार्ड, एप्पल पे, गुगल पे र इ–बैंकिङ जस्ता विभिन्न माध्यम प्रयोग गरी सहजै खल्ती एकाउन्टमा रकम भुक्तानी दिन सक्नेछन्। त्यस्तो भुक्तानी रकम नेपाली प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै जम्मा हुनेछ । यसबाट भुक्तानीका लागि हप्तौँ कुर्नुपर्ने झन्झट अन्त्य भएको छ।
यसरी स्ट्राइपसँगको साझेदारी मार्फत निर्माण गरेको ‘भुक्तानी संरचना’ ले सुरक्षित, नियामकको मापदण्ड बमोजिम भरपर्दो अन्तरदेशीय कारोबार सुनिश्चित गर्ने जनाइएको छ।


