काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
बिहीबार सिंहदरबारमा आयोजित अन्तरसरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारसँग उक्त प्रस्ताव गरेका हुन्।
मनसुनी वर्षा र त्योभन्दा अघिको समयमा कुनै पनि आयोजनाको डिजाइन, इष्टिमेट र टेन्डर आह्वान गर्ने र त्यसबाहेकको समयमा निर्माणको काम गर्न मिल्ने गरी आर्थिक वर्षको समय परिवर्तन गर्न उपयुक्त हुने उनको तर्क थियो।
सरकारले विकास, निर्माणको काममा आमूल परिवर्तन हुने गरी काम गर्नुपर्ने पनि मेयर महर्जनको भनाइ थियो।
सार्वजनिक खरिद ऐन २०६३ मा आमूल परिवर्तन गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराए। कुनै पनि आयोजनाहरुको काम समयमा सम्पन्न नहुनुमा उक्त ऐन मुख्य कारण रहेको औल्याउँदै मेयर महर्जनले त्यसमा तत्काल संशोधन गरेर अघि बढनुपर्नेमा जोड दिए।
मेयर महर्जनले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढन सक्ने अवस्था नभएकाले त्यसलाई पनि अनुकूल हुने गरी विद्यमान कानूनमा संशोधन आवश्यक रहेको जनाए।


