काठमाडौं । सरकारले इम्बोस्ट नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढाएको छ। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन्।
सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा सो कामलाई सुरु गरिएको पनि स्पष्ट पारे। उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टीकरण समेत दिए।
उनले भने, ‘सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो। प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो। अहिले अंग्रेजीमा छ। तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ।’
उपप्रधानमन्त्री श्रेष्ठले सो कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अब सरकारले यो कामलाई तीव्रता दिने पनि बताए।


