काठमाडौं । विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको ‘नेक्सस’ देखिएको तथा प्रहरी प्रमुख फेरबदल प्रकरणमा नेपाली कम्युनिस्ट पाटी (नेकपा)ले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
असोज २३ गते यता नेकपाले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि आन्तरिक बैठक बोलाएको छैन । नेता देवेन्द्र पौडेलले आन्तरिक छलफल भइरहे पनि आपौचारिक बैठक तय नभएको जनाए ।
‘पछिल्लो विकसित घटनाक्रमबारे अनौपचारिक रूपमा आन्तरिक छलफल भइराखेका होलान् । म अहिले पार्टी कामको सिसिलामा जिल्ला आएको छु । पार्टीको बैठक बसेका मलाई थाहा छैन, सायद बस्छ होला’, पौडेलले भने ।
अर्का नेता रामकुमार भट्टराईले बैठक बोलाउने सम्बन्धमा आन्तरिक छलफल भइराखेको जनाए । उनले भने, ‘भोलि/पर्सितिर केन्द्रीय संयोजन समिति बैठक बस्छ होला ।’
सरकारले प्रहरी महानिरीक्षक फेरबदल गरेको विषय २०५३ सालमा लोकेन्द्र बहादुर चन्द र २०६४ सालमा प्रचण्ड सरकारले गरेको निर्णयकै मिश्रण भएको भट्टराईले स्पष्ट पारे । ‘अहिलेको सरकारको निर्णय ०५३ सालमा लोकेन्द्र बहादुर चन्द सरकारको निर्णय र ०६४ सालमा प्रचण्ड सरकारले गरेको निर्णयको मिश्रण हो’, उनले भने ।
राष्ट्रिय जागरण अभियान घोषणा गरेको नेकपाले तिहारपछि जिल्ला र पालिका स्तरमा व्यापक बनाउने तयारीमा छ । अहिले प्रदेशस्तरीय आन्तरिक प्रशिक्षण तथा विस्तारित बैठकमा पार्टी सक्रिय रहेका नेताहरूले जनाएका छन् ।


