यस चलचित्रको निर्माण पक्षले सिनेमाका मुख्य पात्रहरुको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान तय गरेको हो ।
चलचित्रको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ तारिख, बुधबारका दिन जापानको ओसाका सहरमा हुनेछ । ओसाकास्थित ‘मिनातो कुमिन सेन्टर’मा बेलुका ५:३० बजेदेखि ९:३० बजेसम्म विशेष प्रदर्शनी आयोजना गरिने पोस्टरमा उल्लेख छ । यो प्रिमियरलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारको एक महत्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा भलिबलको नेट, कोर्ट र खेलाडीहरू देखाइएको छ, जसले यो चलचित्र खेलकुद (विशेष गरी महिला भलिबल) र संघर्षको कथामा आधारित रहेको प्रष्ट पार्छ । साथै, हिमाली भूगोल र त्यहाँको जनजीवनलाई पनि पोस्टरमा समेटिएको छ ।
पोस्टरमा अभिनेत्री सुरक्षा पन्त खेल पोसाकमा ‘नेपाल’ लेखिएको जर्सी लगाएर हातमा ट्रफी उचाल्दै विजयको उत्सव मनाइरहेको अवस्थामा देखिन्छिन् । यसले चलचित्रमा उनको एउटा संघर्षपूर्ण र प्रेरणादायी खेल यात्रा रहेको संकेत गर्छ । अर्की अभिनेत्री रोशनी कार्की साधारण र हँसिलो लुक्समा छिन् ।
त्यस्तै, पछिल्लो समयका चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु जर्सी लगाएर एक गम्भीर चरित्रमा देखिएका छन् । उनको लुक्सले उनी चलचित्रमा कुनै जिम्मेवार खेलाडी वा भूमिकामा रहेको दर्शाउँछ । दिग्गज अभिनेता प्रकाश घिमिरे ढाका टोपीमा एक अभिभावक वा मार्गदर्शकको रूपमा देखिएका छन् भने लक्ष्मीनाथ तिमलसिना रातो ट्रयाकसिटमा खेल प्रशिक्षक वा टिम लिडरको हाउभाउमा प्रस्तुत छन् ।
‘बुकी’ हिमाली क्षेत्रका पाटनहरूमा वर्षाको समयमा फुल्ने एक विशेष फूल हो । निर्माण पक्षका अनुसार यो चलचित्रले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धको कथा भन्नेछ । चलचित्रको छायांकन काठमाडौं, पोखरा र बागलुङको रमणीय ढोरपाटन क्षेत्रमा गरिएको छ ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, निशा बजगाईं, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को-प्रोडुसरका रूपमा रहेका छन् ।
चलचित्रमा आशुका अर्याल एशोसिएट डिरेक्टर, आचार्य गोपाल चिफ असिस्टेन्ट डिरेक्टर, सहायक निर्देशकमा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी छन् ।
विकास गन्दर्भको डिओपी रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।
श्याम मल्लको श्रृंगार र थम्मन थापाको प्रोडक्सन हेडिङ रहेको यस चलचित्रको पब्लिसिटी डिजाइन राकेश दाहालले गरेका छन् ।
हालसम्म प्रदर्शनको आधिकारिक मिति तय नगरिए पनि निर्माण पक्षले सन् २०२६ भित्र चलचित्रलाई देशभरका हलमा रिलिज गर्ने लक्ष्य लिएको छ ।


