काठमाडाैं । कुनै बेला भारतमा भन्दा सस्तो रहेको पेट्रोलियम पदार्थको मूल्य अहिले भन्दै नेपालमा दक्षिण एसियामै सबैभन्दा महँगो भएको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएसँगै पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै सबैभन्दा महँगो भएको हो ।
नयाँ मूल्य समायोजनपछि पेट्रोलियम पदार्थको मूल्य बढेको छ भने उपभोक्ताहरूलाई दैनिक यातायात तथा अन्य वस्तुको मूल्यमा समेत असर परेको छ । मूल्य वृद्धिसँगै नेपाल छिमेकी तथा दक्षिण एसियाली देशहरूको तुलनामा पेट्रोलियम पदार्थ महँगो हुने सूचीमा परेको हो ।
नेपालमा पेट्रोलको मूल्य २ सय १९ रुपैयाँ प्रति लिटर रहेको छ । त्यसपछि पाकिस्तानमा १९४, श्रीलंकामा १८७, भारत र भुटानमा समान रूपमा १५७, माल्दिभ्समा १५३, तथा अफगानिस्तान र बंगलादेशमा समान रूपमा १४० रुपैयाँ प्रति लिटर रहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर परेको छ । यता आयल निगमले भने पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढेपछि नेपाल आयल निगम गम्भीर वित्तीय संकटमा परेको जनाएको छ । निगमले सार्वजनिक अपिल जारी गर्दै इन्धन खपत घटाउन र मूल्य समायोजन स्वीकार गर्न उपभोक्तासँग आग्रह गरेको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले ३० मार्चदेखि ८ अप्रिल २०२६ सम्मको मूल्यवृद्धिका आधारमा निगमलाई पाक्षिक रूपमा करिब १४ अर्ब रुपैयाँ, अर्थात् दैनिक ९३ करोड रुपैयाँ घाटा हुने अवस्था देखिएको बताएका छन् ।
सरकारले भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिए पनि अन्तर्राष्ट्रिय बजारको निरन्तर वृद्धि हुँदा त्यसको प्रभाव न्यून भएको बताइएको छ । निगमले चैत २६ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ तथा हवाई इन्धनमा ६ रुपैयाँ वृद्धि गरेको छ । मूल्य वृद्धि गर्दा पनि अझै पाक्षिक करिब ८ अर्ब रुपैयाँ घाटा रहने प्रक्षेपण गरिएको छ ।
निगमले ८ अप्रिलमा भारतीय आयल निगम (आईओसी) लाई २६ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने आगामी २३ अप्रिलका लागि थप १६ अर्ब ३७ करोड रुपैयाँ व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको जनाएको छ ।
विगतमा नेपालमा तेलको मूल्य भारतमा भन्दा सस्तो पर्ने हुँदा भारतबाट ल्याएर भारतमै तस्करी समेत हुने गरेको थियो । २०७३ सालमा नेपालमा डिजेल र पेट्रोलको मूल्य भारतको भन्दा प्रति लिटर १७ देखि २४ रुपैयाँ सस्तो थियो ।
उता भारतमा भने पेट्रोल पम्पमा डिजेलको मूल्य प्रति लिटर एक सय रुपैयाँ २४ पैसा (६२ रुपैयाँ ६५ पैसा भारु) र पेट्रोलको मूल्य प्रति लिटर एक सय १७ रुपैयाँ ६३ पैसा (७३ रुपैयाँ ५२ पैसा भारु ) थियो । नेपालमा मूल्य सस्तो भएकै कारण भारतसँग सीमा जोडिएका पर्सा र बाराका पेट्रोल पम्पबाट डिजेल र पेट्रोल भारतमा तस्करी हुने गरेको थियो ।


