आज विसं २०८२ को चैत्र २४ एक महान् र ऐतिहासिक जनआन्दोलनको उत्कर्षको दिन अर्थात् ३६ औं जनआन्दोलन दिवस । २०४६ मा नेपालका सम्पूर्ण राजनीतिक दलहरुले प्रतिबन्धित अवस्थाका बीचबाट प्रत्यक्ष वा परोक्ष रुपले अथवा शान्तिपूर्ण वा सशस्त्र रुपले संघर्स्ष गर्ने क्रममा तत्कालीन निर्विकल्प भनिएको निरंकुश र निर्दलीय पंचायती व्यवस्थाका विरुद्ध संयुक्त र सशक्त आन्दोलन गर्दा आम जनताले अभूतपूर्व सद्भाव, समर्थन, सहयोग, सहभागिता र समर्पण गरेको अविस्मरणीय दिन । विचारणीय छ कि २०४६ चैत्र २४ को आन्दोलनको वैचारिक, राजनीतिक र सांगठनिक आयोजना र नेतृत्व तत्कालीन नेकपा (मशाल) ले गरेको थियो । आयोजक संयन्त्र/संस्थाको रुपमा थियो तत्कालीन नेकपा (मशाल), नेकपा (मालेमा), नेपाली कम्युनिस्ट लीग र नेकपा (मसाल) अनि डा. बाबुराम भट्टराई, क. नन्दकुमार प्रसाईं, मल्ल के सुन्दर लगायतका केही स्वतन्त्र वाम व्यक्तित्वहरु सम्मिलित क्रान्तिकारीहरुको “संयुक्त राष्ट्रिय जनआन्दोलन” नामक तेस्रो संयुक्त मोर्चा । प्राविधिक रुपले त्यसको संयोजक भने चर्चित विद्वान डा. बाबुराम भट्टराई बनाइएका थिए ।
“संयुक्त राष्ट्रिय जनआन्दोलन” नामक त्यो क्रान्तिकारी संयुक्त मोर्चा नयाँ जनवादी गणतन्त्रको निम्ति संघर्षरत शक्तिहरुको थियो । अन्य दुई मोर्चाहरुमा नेपाली काङ्ग्रेसका सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा एउटा “प्रजातान्तृक मोर्चा” र सात वाम दलहरुको अर्को “संयुक्त वाममोर्चा” थियो जसको नेतृत्व प्राविधिक रुपले तत्कालीन नेकपा (मार्क्सवादी) की नेता पुष्पलाल पत्नी साहना प्रधानले गरेकी थिइन् भने राजनीतिक नेता थिए मनमोहन अधिकारी र सांगठनिक नेतृत्व तत्कालीन नेकपा (माले) अर्थात् झापाली विद्रोहीहरुको पार्टी र त्यसका नेता मदन भण्डारीले गरेका थिए । यी दुई क्रमशः संसदवादी र सुधारवादी दलका मोर्चाहरुको राजनीतिक लक्ष संवैधानिक राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्था थियो । तीमध्ये पनि नेपाली काङ्रेसको आर्थिक नीति बुर्जुवा उदारवादमा आधारित थियो भने माले लगायतका वाम दलहरुको मोर्चाको आर्थिक नीति मिशृत अर्थतन्त्रमा आधारित थियो । त्यसरी नै हाम्रा क्रान्तिकारी शक्ति र व्यक्तिहरु सम्मिलित तेस्रो मोर्चाको राजनीतिक लक्ष नयाँ जनवादी गणतन्त्रात्मक व्यवस्था थियो भने आर्थिक नीति राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रमा आधारित थियो । यिनै राजनीतिक र आर्थिक नीतिका भिन्नताका कारण त्यतिबेलाको संयुक्त आन्दोलन एउटै संयुक्त मोर्चाद्वारा संचालित नभएर तीनथरी मोर्चाद्वारा संचालित थियो तर यी तीनमध्ये अघिल्ला दुई नेका र वाममोर्चा आधारभूत रुपमा एकै ठाउँमा थिए भने तेस्रो कम्युनिस्ट क्रान्तिकारीहरुको मोर्चा “संयुक्त राष्ट्रिय जनआन्दोलन” आधारभूत रुपमै फरक थियो । यसरी हेर्दा मूलतः दुईथरी मोर्चा संचालित र संघर्षरत थिए – एउटा संसदवादी मोर्चा र अर्को नयाँजनवादी मोर्चा ।
उल्लेख्य के छ भने वैदेसिक सम्बन्ध, संघर्ष, संगठन र सत्ताका दृष्टिले प्रथम शक्तिशाली मानिएको नेपाली काङ्ग्रेस र दोस्रो शक्तिशाली वाममोर्चाको समग्र नेतृत्वमा यो आन्दोलन आयोजित र संचालित त खुबै जोडतोडले भनिएको थियो तर जनताले ती पार्टीहरुद्वारा अघि सारिएको पुरानै असफलसिद्ध संवैधानिक राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थालाई मन पराएका थिएनन् । त्यसले गर्दा फागुन ७ गते प्रजातन्त्र दिवसको ऐतिहासिक दिनको साइत पारेर सुरु गरिएको उक्त आन्दोलनमा भारतीय शासकवर्गको समेत समर्थन र सहयोगका बावजुद पनि उनीहरुद्वारा संयुक्त रुपमा घोषित चैत्र २४ अघिका कार्यक्रमहरुमा त्यति धेरै जनसहभागिता थिएन जति व्यापक र बृहद जनसहभागिता चैत्र २४ मा थियो । त्यति मात्र होइन, अन्य दिनहरुका कार्यक्रमहरुमा सबै पक्षका जनता-कार्यकर्ताहरुमा चैत्र २४ को जस्तो उत्साह, उमङ्ग, र उत्सर्ग भाव; होश, जोश र जाँगर अनि त्याग, बलिदान र समर्पण अभिव्यक्त भएको थिएन । त्यस दिन जनताले स्वीकारेको र लल्कारेको नारा थियो राजतन्त्र मुर्दावाद नयाँ जनवादी गणतन्त्र जिन्दावाद र निशाना थियो दरवार र राजा महेन्द्रको सालिक । स्मरणीय छ त्यही सालिक तोड्दै गर्दा एकपछी अर्को गरी कैयौं योद्धाहरुले वीरतापूर्वक आफ्नो अमूल्य जीवन देस, जनता र क्रान्ति-मुक्तिको लागि उत्सर्ग गरेका थिए ।
खोलौं यो पंक्तिकारद्वारा विभिन्न सन्दर्भमा लेखिएका छोंटालामा लेखक-टिप्पणीका यी लिङ्क र
पढौ अनि बढौं यसै संयुक्त क्रान्तिकारी जनआन्दोलनरुपी जनविद्रोहको बाटोमा !!!
प्रतिबद्ध होऔं नेकपाका संस्थापक महासचिव एवं अपूर्व दूरदर्शी विद्वान र इमान्दार क्रान्तिकारी नेता क. पुष्पलालको विचारमा !!!!
र, मोर्चाबद्ध होऔं उहाँकै संयुक्त जनआन्दोलनको नीतिअनुसार साम्राज्यवाद, यथास्थितिवाद र प्रतिगमनका विरुद्धको राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चामा !!!!


