काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह यही चैत्र १३ गते प्रधानमन्त्री बन्दैछन् । उनले रामनवीको अवसर पारेर आफ्नो शपथको लागि मिति तय गरेको खबर प्राप्त भएकाे छ। रास्वपाले १८ सदस्यभन्दा बढि नहुनेगरि मन्त्रिपरिषद् बनाउने चुनावी वाचा गरेअनुसार नै बालेनले मन्त्रिमण्डल बनाउने भएका छन् ।
उनी यतिवेला मन्त्रिमण्डल गठनको गृहकार्यमा जुटेका छन् । रास्वपाका नेतृत्व तहका नेताहरु यसअघि नै सरकार गठनको गृहकार्यमा जुटिसकेका थिए । बालेनले आफ्नो टिम बनाउन पछिल्ला दिनमा मेहनत गरेका छन् । सुरुमै डेलिभरी दिनेगरि शाहले सरकारमा मन्त्रीहरु सहभागी गराउन चाहेका छन् ।
रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्लेको नाम अर्थ मन्त्रालयको नेतृत्वमा तय भएको बताईन्छ । तर, गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा अझै सहमति बन्न सकेकाे छैन । बालेनले गृह मन्त्रालयको नेतृत्वमा सुनिल लम्साललाई अघि सारेको छ । शाह काठमाडौं महानगरको प्रमुख हुँदा लम्सालले विश्वासपात्रको रुपमा सहयोग गरेको छ। तर, सभापति रवि लामिछानेले भने गृह मन्त्रालयमा अर्का उपसभापति डिपी अर्यालको नाम सारेको छ। अहिले गृहमन्त्रालयको नेतृत्वमा नाम तय भइसकेकाे छैन ।
जेनजी आन्दोलनमा अगुवाको छवि बनाएका सुदन गुरुङपनि मन्त्री बन्ने चर्चा छ । उनलाई युवा तथा खेलकुदमन्त्री बनाईनेगरि एकसरो छलफल चलेको छ । उनी गोरखा–१ बाट निर्वाचित भएका हुन् ।
रास्वपाले चैत्र १२ गते शाहलाई दलको नेता बनाउने भएको छ। त्यसअघि नवनिर्वाचित प्रतिनिधिसभाहरुको शपथ राखिएको छ । सो शपथलगत्तै रास्वपाको बैठक बसेर दलको नेता चयन गरिने भएको हो । चैत्र १३ गते बालेनले प्रधानमन्त्रीको शपथ खाने र त्यही दिन पूर्ण क्षमताको मन्त्रिमण्डल गठन गर्नेगरि तयारी गरेका छन् ।


