काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन्।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए। उनले भने, ‘माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो, जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन।’
माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने दायित्व सबैको भएको बताए।
‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,’ उनले भने, ‘६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ। हामी जहाँ उभिएका छौँ सरकार त्यहीँ बन्छ।’
निर्वाचन अपेक्षित नभएको बताएका उनले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको बताए।
अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। रासस


