काठमाडौं । संयुक्त राज्य अमेरिकामा संघीय अध्यागमन एजेन्टहरूको घातक गोलीबारी, बढ्दो दमन र गैरन्यायिक हत्याविरुद्ध सुरु भएको आन्दोलनको क्रममा अमेरिका ठप्प बनाइएको छ ।
‘काम नगर्ने, विद्यालय नजाने र किनमेल नगर्ने’ भन्ने नाराका साथ सुरु भएको यो आन्दोलनले अमेरिकाका प्रमुख सहरहरूको जनजीवन पूर्णत: प्रभावित पारेको छ ।
संघीय एजेन्टहरूद्वारा ३७ वर्षीया रेनी निकोल गुड र नर्स एलेक्स प्रेटीको हत्या भएपछि नागरिक समाज आक्रोशित बनेको छ । प्रत्यक्षदर्शी र सार्वजनिक भएका फुटेजहरूमा निशस्त्र नागरिकमाथि एजेन्टहरूले अनावश्यक बल प्रयोग गरेको देखिएको छ । प्रदर्शनकारीहरूले अहिले अध्यागमन एजेन्सीहरू आईसीई र सीपीबीलाई स्थानीय समुदायबाट स्थायी रूपमा हटाउनुपर्ने र दोषी एजेन्टहरूमाथि कडा कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।
आन्दोलनको प्रभाव लस एन्जलस, डेन्भर र मिनियापोलिस जस्ता प्रमुख व्यापारिक केन्द्रहरूमा स्पष्ट रूपमा देखिएको छ । व्यापारिक प्रतिष्ठानहरू बन्द छन् भने कर्मचारीहरूले सामूहिक रूपमा काम बहिष्कार गरेका छन् ।
यो नागरिक आन्दोलनलाई हलिउडका चर्चित अभिनेता पेड्रो पास्कल र र्यापर म्याकलमोर जस्ता प्रभावशाली हस्तीहरूले पनि ऐक्यबद्धता जनाएपछि यसले थप चर्चा र शक्ति प्राप्त गरेको छ ।
सामाजिक सञ्जालमा यी कलाकारहरूले मृतकप्रति न्याय माग्दै प्रदर्शनकारीहरूको साहसको प्रशंसा गरेका छन् । अमेरिकाका विपक्षी दलहरूले पनि यी घटनालाई आधार मान्दै अध्यागमन बजेटमा व्यापक कडाइ र सुधार गर्न सरकारलाई दबाब दिइरहेका छन् ।
एकातिर नागरिकस्तरबाट ’सटडाउन’ भइरहेको छ भने अर्कोतिर आजै मध्यरातसम्म बजेट पारित नभएमा संघीय सरकार नै बन्द हुने जोखिम बढेको छ ।
(द गार्जियनबाट)


