काठमाडाैं । माछापुच्छ्रे बैंकले स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने उद्देश्यले एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको छ । बैंकले विभिन्न नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरूलाई लक्षित गर्दै क्यूआर मर्चेन्ट–एमबीएल स्मार्ट लोन सेवाको सुरुवात गरेको छ ।
डिजिटल बैंकिङको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी आफ्ना ग्राहकहरूलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले क्यूआर मर्चेन्टहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिनाधितो सहज र सरल तरिकाले एमबीएल एल–स्मार्ट एपमार्फत नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । डिजिटल माध्यमबाटै कर्जा स्वीकृत हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ । स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै, १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


