काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ‘जेनजी’ आन्दोलनको उपज भएको जनाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पार्टीको घोषणा सभामा भट्टराईले आफ्नो पार्टीलाई ‘जेनजी’ पुस्ताको पार्टी भन्नुपर्ने जिकिर गरे । प्रलोपालाई ‘जेनजी’ पुस्ताको पार्टी हो भनेर नबुझ्ने हो भने त्यसको कुनै अर्थ नहुने उनको धारणा थियो । ‘जेनजी’ पुस्ताको आवाज र मागलाई सो पार्टीले पूरा गर्नुपर्ने उनले बताए ।
“यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो । र, जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ । यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँड्ने हो भने हुँदैन,” भट्टराईले भने, “अबको यो पार्टीको एजेन्डा भनेको जेनजी पुस्ताको चेतनासँग, त्यसको आवाजसँग, यो युगसँग जोडिएका कुराहरू यसले पूरा गर्नसक्छ कि सक्दैन ?”
भट्टराईले ‘जेनजी’ पुस्ताको माग सम्बोधन गरेर अघि बढ्न राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको उनको धारणा छ ।


