काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले कानुनको आडमा महिला हिंसा भइरहेको टिप्पणी गरेकी छन्।
उनले समाज, परिवार र घर–घरको मानसिकतामा परिवर्तन नआइकन महिला हिंसाबाट छुट्कारा नमिल्ने तर्क गरिन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने (नोभेम्बर २५–डिसेम्बर १०) अभियानअन्तर्गत सञ्चालित कार्यक्रममा मन्त्री रेग्मीले समाजमा व्याप्त लैङ्गिक हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन अनिवार्य भएको राय व्यक्त गरिन्।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) नेपालका आवासीय प्रतिनिधि एल्के विस्चले महिलाविरुद्धको हिंसा अन्त्य गर्न महिला एक्लैको मात्र प्रयास पर्याप्त नहुने विचार व्यक्त गरे। उनले हिंसा अन्त्य गर्नका लागि समाजका सबै तप्काहरूको संयुक्त प्रयास जरुरी हुने बताए।


