काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रवासबाटै मतदाता नामावली दर्ता गराउन व्यवस्था मिलाउन माग गरेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था मिलाउन माग गरेको रास्वपाले जनाएको छ ।
महामन्त्री बुर्लाकोटीसहित नेताहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता समेत गराएका छन्।
पत्रमा भनिएको छ, ‘उक्त अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध गरिएको छ ।’


