चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक शुक्रवारबाट चितवनमा सुरु हुँदैछ । बैठकमा केन्द्रीय समितिसहित प्रदेश, जिल्ला तथा क्षेत्रका पदाधिकारीहरू प्रतिनिधिका रुपमा सहभागी हुँदैछन् ।
विस्तारित बैठकमा सहभागिताका लागि पार्टीले १५ सय रुपैयाँ शुल्क तोकेको छ । तर त्यसभन्दा अघि पार्टीका केन्द्रीय सदस्य, विभागका पदाधिकारी तथा सदस्यहरूले अनिवार्य लेबी तिरेको हुनुपर्ने रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् । रास्वपाले केन्द्रीय सदस्यका लागि वार्षिक २५ हजार रुपैयाँ र विभागका सदस्यहरूका लागि १५ हजार रुपैयाँ लेबी तोकेको छ ।
३४ केन्द्रीय सदस्यहरूले नै तिरेनन् लेबी
रास्वापका कोषाध्यक्ष लिमा अधिकारीका अनुसार पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागका सदस्यहरूले हरेक आर्थिक वर्ष सुरु भएको २ महिनाभित्र अर्थात् असोज महिना भित्र लेबी तिरिसक्नु पर्ने हो । तर रास्वपाका आधा बढी केन्द्रीय सदस्यले लेबी तिरेका छैनन् । बरु लेबि तिर्ने विभागका सदस्यहरूको सङ्ख्या केन्द्रीय सदस्यको भन्दा धेरै छ ।
रास्वपामा अहिले ६२ जना केन्द्रीय सदस्य छन् । जसमध्ये बिहीबार रातीसम्म जम्मा २८ जना केन्द्रीय सदस्यले पार्टीलाई लेबी बुझाएका छन् ।
कार्यबाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा.स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारीले लेबी बुझाएका छन् ।
यस्तै केन्द्रीय सदस्य दिपकराज बोहरा, सहप्रवक्ता प्रतिभा रावल, उपेन्द्र पाण्डे, गणेश पराजुली, रामकृष्ण भट्टराई, प्रमिला कुलुजु, रविना घिमिरे, क्रान्तिशिखा धिताल, धुव्र गिरी, पुकार बम, अच्युतम लामिछाने, सोविता गौतम, डा.अरनिको पाँडे, विष्णु कुमार श्रेष्ठ, मोहन थापा, राजन गौतम(चितवन), अर्जनु अधिकारी? शिशिर खनाल, सन्तोष परियार, मनिष झा, शिव नेपाली, एलिजा गुरुङले लेबी बुझाएका छन् । यस्तै अशोक चौधरी र नन्दन यादवले बिहीबार साँझ लेबी तिरेका छन् । उनीहरु बाहेक अन्य केन्द्रीय सदस्यले लेबी नतिरेको रास्वपाले जनाएको छ ।
केन्द्रीय सदस्यको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्
डा.तोसिम कार्की र गणेश कार्कीको निवेदन: पार्टीको लेबी तिर्न सकिन
निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी, केन्द्रीय सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी लेबी तिर्न नसक्ने निवेदन दिएमा उनीहरूले लेबी तिर्नु पर्दैन । पूर्व सांसद डा.कार्कीले आफ्नो आर्थिक अवस्थाका कारण लेबी तिर्न नसक्ने भन्दै कोषाध्यक्षलाई निवेदन दिएकी छिन् ।
उनी असोज २७ सम्म सांसद थिइन् । यस्तै अर्का केन्द्रीय सदस्य गणेश कार्कीले पनि आर्थिक अवस्था उल्लेख गर्दै लेबी तिर्न नसक्ने भन्दै निवेदन कोषाध्यक्षलाई बुझाएका छन् ।
लेबी नतिर्नेहरू बैठकमा प्रतिनिधि हुन नपाउने
रास्वपा कोषाध्यक्ष अधिकारीका अनुसार पार्टीको मुख्य आयस्रोत नेता कार्यकर्ताको लेबी नै भएकाले विस्तारीत बैठकमा लेबीलाई कडाइका साथ लागु गरिएको छ । बैठकमा प्रतिनिधि बन्नका लागि लेबी अनिवार्य गरिएको छ ।
लेबी नतिरेका सदस्यहरुलाई बैठकमा सहभागी नगराउने छलफल भएको छ । ‘सबै सदस्यहरु जिम्मेवार हुनुहुन्छ, विस्तारित बैठक पूर्वनै सबैले लेबी बुझाउनहुन्छ होला’, अधिकारीले सिधाकुरासँग भनिन् ।


