नेपालगन्ज। बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको कार्यक्रमको एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले संयुक्त रुपमा आइतबार उद्घाटन गरेका थिए
उद्घाटन समारोहमा बोल्दै एन्फा अध्यक्ष नेम्वाङले फुटबलका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्नका लागि फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपूर्ण रहेको बताए। ‘हामी निकै खुसी छौं। फिफाको अवधारणा अनुसार यो कार्यक्रम एक हजारभन्दा धेरै विद्यालयमा पुगिसकेको छ। यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन यहाँका स्थानीय तह, एन्फा बाँके, फुटबल क्लब र स्थानीयबासीलाई म अनुरोध गर्दछु’, अध्यक्ष नेम्वाङले भने ।
नगर प्रमुख विष्टले फुटबलको विकासमा उपमहानगरपालिकाले सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए। उनले भने, ‘खेलकुदका कार्यक्रममा फुटबल अगाडि छ। बालबालिकालाई फुटबलको माध्यमबाट भएपनि शारीरिक र मानसिक रुपमा बलियो बनाउने प्रयास भइरहेको छ। यो अहिले हाम्रो समाजलाई निकै आवश्यक कार्यक्रम हो। यसमा हामी सहकार्य गर्नेछांै ।’ उनले ग्रासरुट फुटबललाई नियमित गराउन बजेट विनियोजन गर्ने पनि बचन दिएका थिए।
फिफा फुटबल फर स्कुल कार्यक्रमले बाँकेमा फुटबल संस्कृतिको विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई बाँके जिल्ला फुटबल संघले चार महिना अघिदेखि हप्ताको दुई दिन निःशुल्क रुपमा प्रशिक्षण गराउँदै आएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जानकारी दिए। नेपालगन्ज रंगशालामा तीन सय बालबालिकाले बिहीबार र शुक्रबार प्रशिक्षण गरिरहेका छन्। जिल्लाका अन्य स्थानीय तहमा यो कार्यक्रम विस्तार गरेर बालबालिकालाई फुटबल प्रशिक्षण गराउने योजना रहेको खत्रीले जनाए।
नेपालगन्ज रंगशालामा भएको कार्यक्रममा बाँके जिल्लाका निजी तथा सामुदायिक २५ भन्दा बढी विद्यालयका करिब तीन हजार बालबालिकाको सहभागिता रहेको थियो। उद्घाटनको दिन नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समूहका खेलाडीले प्रशिक्षणसँगै मैत्रीपूर्ण अभ्यास खेल खेलेका थिए।

