– खडग पाण्डे
मानिसले जीवनमा सबैभन्दा लालायित वस्तु खुशी हो। मानिसले धन, पद, सत्ता, प्रेम, परिवार, ज्ञान वा आस्था जे खोज्दछ र पाउँछ, त्यसको अन्तिम लक्ष्य खुशी पाउनु नै हुन्छ। ‘खुशी’ के हो? खुशी भावना हो; कुनै स्थायी वस्तु होइन। जीवनप्रति सन्तुष्टि, मनको शान्ति, र वर्तमानलाई स्वीकार्ने अवस्था नै खुशी हो। खुशी हुन आधारभूत आवश्यकताको पूर्ति, जीवन्त आत्मीय सामाजिक सम्बन्धहरू, अर्थपूर्ण जीवन, वर्तमानमा रमाउने क्षमता, कृतज्ञता र आत्मस्वीकृति आवश्यक हुन्छ। यी तत्वहरूले मानिसलाई स्थायी सन्तोष र खुशी अनुभव गर्न मद्दत गर्छन्।
जीवन जिउने आ-आफ्नै दृष्टिकोण र कला हुन्छ। भौतिकवादिहरूको दृष्टिमा जीवनको कुनै परलौकिक उद्देश्य हुँदैन। जीवनको मूल्य आफैंले निर्धारण गर्नुपर्छ। जीवनशक्ति (consciousness) शरीरसँगै अन्त्य हुन्छ। मृत्युपछि “कुनै आत्मा” वा “पुनर्जन्म” छैन। धार्मिकहरूको दृष्टिमा जीवनको लक्ष्य ईश्वरको आराधना र अन्ततः मोक्ष (मुक्ति) पाउनु हो। त्यसैले खुशीसँग जीवनदृष्टिकोणको प्रत्यक्ष सम्बन्ध हुन्छ।
यो लेख आत्मीय सम्बन्ध भत्किएको जोडीको अनुभूति हो। आत्मीय सम्बन्ध बिग्रँदा अनुभव हुने पीडाको सानो अंश। सम्बन्धले मानिसको सुरक्षा, आत्मपहिचान, भावनात्मक सहारा र जीवनको अर्थ सम्हाल्छ। जब यो आधार भत्किन्छ, मानिस शून्यता, एक्लोपन र मानसिक पीडामा डुब्छ।
हाम्रो गाउँका दाइ मित्रमणी र भाउजू रुक्मिणीको कथा र व्यथाले मेरो मन रुवायो। उमेरले सात दशक काटेका उनीहरू आफ्नो विदेशिएको छोरालाई विदेशमै भेटेर भर्खरै नेपाल फर्किएका थिए। बुढाबुढी सन्तानको मायाले सन्तान भएको ठाउँमा पुगे। आफ्नै गाउँ बस्ति र जिल्ला सदरमुकाम बाहेक कतै नगएका ती वृद्ध दम्पती हजारौं कोस टाढा पुगेर फर्किएका थिए।
विदेशबाट फर्किएपछि म भेट्न गएको थिएँ। मेरो उपस्थितिले त्यो दम्पती खुशी भए। कुराकानीको क्रममा विदेशका कुरा सुरु भयो। दुबै जनाले विदेशको बखान गर्न थाले; ठूला घर, फरक चौडा र चिप्लिने बाटो, मोटर, रेल, पानी जहाज, मान्छेको भिड, खानाको परिकार आदि। आफ्नो छोरा-बुहारीको कमाई, मोटर, घर, नातिनातिनाका खेलौना देखि स्कुलसम्म। उनीहरूले बताउँदा लाग्थ्यो, संसारको सबै सुख तिनैका छोरा-बुहारी र नातो-नातिनाले नै उपभोग गरेका छन्। आफ्ना सन्तानको उन्नति, प्रगति, सुख-सुविधाको कुनै सीमा छैन। ती वृद्धको भनाइ अनुसार यो लोकको सबैभन्दा सन्तुष्ट आमा, बा, हजुरबा र हजुरआमा तिनै हुन्- दाइ मित्रमणी र भाउजू रुक्मिणी।
कुराकानी गर्दा उनीहरूको अनुहारमा उत्साहित भाव देखिदैनथ्यो। गालामा तरङ्ग, आँखामा चमक र ओठमा मिठो मुस्कान केही देखिदैनथ्यो। दृष्टि तलतिर झुकेको र बोलिमा भारिपन थियो। मैले अनुमान गरे, यो दम्पती भित्री पीडामा छन्। मैले सहज हुँदै भने- “ओहो, यत्रो सुख र वैभव भएको आफ्नो सन्तान विदेशमा छ; अब दाई-भाउजु पनि विदेशिनु हुन्छ होला। किन यति छिट्टै फर्कनुभयो? अब फेरि कहिले जानुहुन्छ?” मेरो जिज्ञासाले भाउजुको भित्री मन पोलेछ। भाउजुको आँखामा बिस्तारै ओस बसे। त्यो ओस आँसुका थोपा बनेर आँखाको डिलमा थामिन खोज्यो। तर समयले नथाम्ने दुःखजस्तै, त्यो थोपा पनि रोकिएन; फ्यात् भुईँमा खस्यो। आँखा जुन पहिले चम्किन्थ्यो, जीवनको उज्यालो झल्किन्थ्यो, त्यो चमक झणभरमै हरायो। अन्धकारले अचानक सारा संसारलाई निलिदिएको जस्तो। मनको पीडा आँसुका रूपमा बग्न थाल्यो; सुक्क सुक्क आवाजमा, निरन्तर बगिरह्यो। त्यो क्षण मन, मस्तिष्क र मुटु सबै एकैठाउँमा निचोरिएको जस्तो अनुभव भयो।
मेरो जिज्ञासाले भाउजुको भावनामा गहिरो चोट पुर्यायो कि? मेरो शब्दले कसैले आँसु झार्नु “पाप” जस्तो लाग्दछ। तर दाई-भाउजुले अहिलेसम्म देखाएको सुख, सुविधा र वैभवको सबै कुरा खारेज गर्दै आफ्नो पीडा सुनाए। उनीहरूले आफ्ना भित्री बेदना, पिडा र असह्य घाउका अनुभव पोखिदिए।
विदेशमा बिताएका ती तीन महिना उनीहरूको लागि त्रासद दिनजस्ता भए। नातिनातिनाको भाषा बुझ्दैनन्, उनीहरूको भाषा पनि नातिनातिनाले बुझ्दैन। कोठा बाहिर जानुहोस्, कहाँ जाने? कोसँग जाने? पैसा छैन। बुहारी दिनभरी सुत्दछिन, राति बाहिर जान्छिन। निशाचारको जस्तो कस्तो जागिर गर्दछिन कुन्नी? छोरा बिहानै घरबाट निस्कन्छन् र राति ढिला फर्कन्छन्। छुट्टीमा पनि पार्टी गर्छन्। मध्यरातसम्म साथीभाइसँग रमाउँछन्, रक्सी पिउँछन्। बाहिर देख्दा भव्य पार्टी। खानाका परिकारहरु, रमझम, नाच-गान र उल्लास। भित्र भित्रै मान्छेहरुको भिडमा पनि एक्लो। हामीले जुठो भाडा माझ्ने र भित्रभित्रै आँसु पिउने।
भाउजुले आफ्नो अनुभव सुनाउँदै गर्दा दाइ टोलाइरहेका थिए। दाईको नजर अनायासै आकाशतिर उठ्यो। आकाश उहीँ थियो- अनन्त, नीलो र स्थिर। तर वर्षौँदेखि देख्दै आएको त्यो आकाश आज कताकता पराय लाग्यो। आफ्नै पैतलाले कुल्चेको बाटो, जुन जहिल्यै आफ्नै जस्तो लाग्थ्यो, आज उनको लागि बिरानो जस्तो। आफ्नो जीवन आफ्नो हातबाट टाढा भासिएको जस्तो अनुभव भयो। विगत अचानक मनको ढोका ढक्ढक्याएर भित्र पस्यो। उनी सम्झिए; सपना देखेको थिए, छोरालाई हुर्काउने, पढाउने, ज्ञान र भविष्यको उज्यालोतिर धकेल्ने। आफ्नो पसिनाको गन्धलाई अत्तरमा रूपान्तरण गरेर छोरालाई उपहार दिने। उनको गर्व यही थियो- “म सक्षम छु, मेरो छोरा पनि विदेशमा छ।” आकाशमा उडिरहेको जहाज देख्दा उनीहरूको मन अझ गहिरो यात्रामा बग्थ्यो। तर आज आकाश उही थियो, जहाज उडिरहेकै थियो; फरक केवल उनीहरू भित्रको खालीपन थियो, जहाँ सपना र वास्तविकता टकराएर टुक्रा टुक्रा भएका थिए।
भाउजुले आफ्नो अनुभव सुनाइन्। म मासु पकाउँदै थिएँ। पकाउँदै गर्दा गाईको गोठको जस्तो गन्ध आयो। मैले छोरालाई सोधे- “यो केको मासु हो? गोरु जस्तो गन्ध आउँछ।” बुहारी झर्किदै भनिन्- “आफु साहकारी मासु नखानेलाई किन चाहियो? खुरुक्क पकाउनुहोस्।” त्यो सुनेर बुढालाई नमिठो लाग्यो। कसैले नदेख्नेगरी आँसु पुछ्नुभयो। एक पटक खान खाँदा भाउजुलाई ख्वाक्क खोकी लागेछ। छोरा-बुहारी, नातिनातिना सबै खानै छोडेर गए। हिजो आफ्नै थुकले पैतालाको माटोमा टिका लगाउँदा खुशी हुने मेरो छोरा, आज आमालाई घिन मान्ने भयो। बा ले खाना खादा अलिकती पोखियो भने छोराले गाली गर्छ। यति डलर र उति डलर परेको बताउँछ। बा-आमाको जीवनभरको रगत-पसिनाको मूल्य, दुई सिता भातसँग तुलना हुन्छ? भाउजुले प्रश्न गरिन्। मेरो मनमा हुँन्डरी आयो; म बोल्न सकिन। स्तब्ध भए।
हिजो विदेशिनु बाध्यता थियो। भोकसँग लड्न, हातमुख जोर्न, औषधि-मुलो किन्न, र आफ्नो जीवन अड्याउने एउटा सानो बारी जोड्न। त्यो बारी जसको माटो पसिनाले भिज्थ्यो, जसको बालीनालीले पेट मात्र होइन, आशाको झिल्को पनि फल्दथ्यो। बाध्यता थियो, छोराछोरीलाई विद्यालय पठाउने, उनीहरूको हातमा नाना थमाउने, आमा-बुबाको अनुहारमा हाँसो फिर्ता ल्याउने। त्यो बेला देशमा जहानियाँ शासन थियो। जनताको रगतबाट बनेको महलमा थोरै मानिसको मात्रै राज्य चल्थ्यो। त्यसैले परदेशतिर पलायन हुनेहरूले आफ्नो गूड् छोडे पनि, फेरि त्यहीँ गूडमा फर्किन्थे। विदेशतिर स्थाई बसोबास गर्ने चलन थिएन। थोरै मिठाई ल्याउँथे, तर अनगिन्ती खुशी बोकेर। गाउँभरि रमाइलो हुन्थ्यो, आउनेहरूले बुबा-आमा, श्रीमती-छोराछोरीलाई अँगालो मार्थे, घर फेरि उज्यालो हुन्थ्यो।
आज भने… देशमा गणतान्त्रिक शासन व्यवस्था छ। तर बचेँराहरु पखेटा फैलाएर टाढा उडेपछि फर्केर आउँदैनन्। आए पनि केवल पर्यटक भएर आउँछन्। आफ्नै जन्मथलो अब घुम्ने ठाउँ मात्र बनेको छ। मैले मनमनै सोचे, आफ्नै जन्मभूमि, आफ्ना माता-पिता र पुर्खाले रगत-पसिनाले सिँचिएको पाखा-पखेरामा आउँन पनि भिसा आवश्यक। यहाँ नेताहरू राष्ट्रियताको गफ गर्छन्, आफ्ना छोरा-छोरी विदेशमा पठाएर आफैले पीआरको जोहो गर्छन्। यहाँ मानिस मात्र होइन, माटो पनि रुदो छ। तर हामी माटोको भावना र भाषा बुझ्दैनौं।
सपनाहरू दलाल पूँजीवादले उडाइदिएको छ र केवल आफ्ना सन्तानको तृष्णाले सुक्दै गएको आँसु मात्र बाँकी छ। जहाँ सपना र वास्तविकता टकराएर टुक्रा-टुक्रा भएका छन्। आँसु पिएर हासो देखाउनु पर्ने क्रूर यथार्थ। घरमा मिठो पाक्दा आफ्ना परदेशिएका सन्तान सम्झेर आज पेट सन्चो छैन भनेर भोकै उठ्ने बा वा पकाउँदै गर्दा छोरा-छोरीको सम्झनाले हात जुठो नगर्ने आमाको पीडाको जिम्मेवार को हो?
सन्तानप्रतिको स्नेह, माया र ममता आज विदेशी मुद्रामा विनिमय भएको छ। त्यसको मूल्य छैन; अमूल्य छ। त्यो पैसा बस्तु किनमेल गर्न सक्छ, तर बा-आमाको एक्लोपन, बेसहारा अवस्था र अत्यासलाग्दो वर्तमान र निराशाजनक भविष्यलाई मलमपट्टी लगाउन सक्दैन।
भनिन्छ, बा-आमाको अगाडि आफ्ना सन्तान कहिल्यै पाका हुँदैनन्। सधैं बच्चा। त्यसैले हरेक बा-आमाले आफ्ना सन्तानलाई वरिपरि देख्न चाहन्छन्, स-सानो कुरामा पनि साथ, सहयोग र सल्लाह दिन्छन्। तर अपशोच, सन्तानले बेग हानेपछि एउटै साहारा बाँकी हुन्छ-फोन कल। फोनको घण्टी बज्दा आफ्नै सन्तान ढोका ढकढकाएजस्तो लाग्छ। तर छोरा-छोरी “विजी” हुन्छन् र आमा दिनरात सम्झिएर पनि उनीहरूलाई बाडुल्कि लाग्दैन। यता आमा प्र्तेक दिन संन्तानको सुख र प्रगतिको लागि देउता भाक्दछिन, प्राथना गर्दछिन, देवी देवतालाई फुल चडाउदछिन उता छोरा-छोरी कुलतको शिकार बन्दैछन।
अहिले गाउँ-गाउँमा बाटो पुगेको छ। त्यहिबाटोबाट गाउँका छोराछोरी विदेशिएका छन्। हिजो मान्छे थिए, बाटो थिएन- अहिले बाटो छ, तर मान्छे छैनन्। भौतिक विकासले मात्र मानिसलाई रोक्न सक्दैन। विकास पुनःपरिभाषित भयो।
गाउँका सरकारी विद्यालयमा पढेका बेला बेला त्यहाँ आउने-जाने गर्दछन। तर “बोर्डिङ” पढेकाहरू धेरै लोप भए। कारण स्पष्ट छ- विद्यालय गाउँमै पढे, उच्च शिक्षा बजारका क्याम्पसबाट पाए। रोजगार खोज्दा दलाल पूँजीवादले पासपोर्ट बनाउन र विदेशिनुको विकल्प बाँकी राखेन।
त्यो विदेशप्रतिको आकर्षण र स्वदेशको विकर्षणको स्थिति कसले बनायो? आफ्नै काखबाट आफ्ना सन्तान किन खोसिए? आफ्ना आमा-बुबाको मायालु छायाबाट सन्तान टाढा किन गए? मानिसको सामाजिक जीवनचक्र कसले टुक्रा–टुक्रा पार्यो? उत्तर स्पष्ट छ- दलाल पूँजीवादी उपभोक्तावादले परिवार छिन्नभिन्न बनायो। राज्यसत्तामा बस्नेहरू जनताको बियोगान्त पार्ने “दानव” जस्ता हुन्।
ती दाइ-भाउजु प्रतिनिधि पात्र हुन्। समाजलाई बिखण्डन गर्ने, युवालाई पलायन गर्ने, र तिनको रगत-पसिनाबाट “स्वर्ग” भोग गरी उनीहरूलाई शासन गर्ने दलाल पूँजीवादी शासन प्रणाली र यसको मतियार विरुद्ध आवाज उठाउन सके भावी पुस्ताले दाइ-भाउजुको नियति भोग्नु पर्दैनथ्यो।
समृद्धिको बतासे गफ हानेर जनताको सपना तुह्याउने व्यक्ति र प्रणालीविरुद्ध आगो उकल्ने वा आँखाबाट विरहको आँसु बगाइरहने- छनौट तपाईंको!


