काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले संविधानले दिएको हरेक अधिकारमा सरकारले साँधेको प्रतिशोध र अन्यायविरुद्ध लड्ने जनाएकी छिन् । रुपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई जमानतमा रिहा गर्न अस्वीकार गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो जनाएकी हुन् । उनले श्रीमानले न्याय नपाएसम्म लडिरहने जनाएकी छन् ।
उनले लेखेकी छिन्, ‘म थाकेकी छैन, हारेकी छैन । संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।’
आजै रुपन्देही अदालतबाट लामिछानेको निवेदनमा माग गरे बमोजिम नहुने आदेश आएको छ । रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।
लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम जमानत राखेर थुनामुक्त हुन पाउँ भन्दै दिएको निवेदनसँग जमानत पनि बुझाइसकेका थिए । उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका थिए ।
सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने उनको माग थियो । तर अदालतले श्रीमान्लाई थुनामुक्त गर्न अस्वीकार गरेपछि पौडेलले सरकारले प्रतिशोध साँधेर अन्याय गरेको जनाएकी हुन् ।


