काठमाडौं। नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने सरकारी तयारीप्रति कडा आपत्ति जनाएकी छन्।
सांसद शर्माका अनुसार देवानी संहिता २०७४ को धारा १७५ संशोधन गर्न कानुन मन्त्रालयले अघि बढाएको प्रक्रिया नेपालको संविधानले प्रत्याभूत गरेका महिला अधिकारहरू र नेपालले पक्षकार रहेका अन्तर्राष्ट्रिय दायित्वहरूसँग बाझिएको छ।
“जनयुद्ध, जनआन्दोलन र महिला आन्दोलनले ल्याएका उपलब्धिमाथि सरकारको यस्तो हमला महाप्रतिगमन हो,” उनले भनिन्, “यो हाम्रो लागि स्वीकार्य छैन।”
उनले बहुविवाहलाई कानुनी मान्यता दिनेतर्फ गरिएको कुनैपनि प्रयासलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउँदै त्यसप्रति घोर आपत्ति जनाइन्।


