काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नेताहरुले गुट भंग गरेर थप एकताबद्ध भई अघि बढ्नुपर्ने धारणा राखेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा अधिकांश नेताहरुले गुट बन्द गर्नुपर्ने र स्वार्थ समूहहरु विघटन गर्नुपर्ने आवश्यकता रहेको बताएको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी गराए।
उनले व्यक्तिवादी अराजकता, अनुशासनहिनता पार्टीमा बढेर गएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेको बताए।सांस्कृतिक क्रान्ति चलाउन सदस्यहरुले माग गरेको उनको भनाइ थियो।
अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गर्नुपर्ने कुनै सदस्यहरुले धारणा नराखेको उनले जिकिर गरे।
बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत भएको माओवादी ११ लाखमा झर्नुमा आफ्नो कारण रहेको भए आत्मालोचना गर्ने र पार्टी अध्यक्षले पनि आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए।
शर्माले बोलेको कुराको कुनै अर्थ नरहेको सापकोटाले बताए। एकाध व्यक्तिले बोलेका कुराको कुनै अर्थ नरहेको उनको धारणा थियो।
उनले भने, ‘धेरैले भनेको कुरा के हो भने गुट भंग गर्नुपर्छ, स्वार्थ समूहहरु विघटन गर्नुपर्छ। अनि मात्रै पार्टी एकता हाँसिल गर्न सकिन्छ। व्यक्तिवादी अराजकता, अनुशासनहिनता जुन बढेर गएको छ, त्यसलाई अब नियन्त्रण गर्नुपर्छ। शुद्धिकरण, रुपान्तरणका कुरा अलि बढी आएका छन्।’
उनले आइतबार १९ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेको पनि जानकारी गराए।


