काठमाडौं । भारतमा अहिलेसम्म कतै नदेखिएको एउटा नयाँ रक्त समूह (ब्लड ग्रुप) फेला परेको छ । जसको नाम ‘सीआरआईबी’ राखिएको छ ।
‘सीआरआईबी’मा ‘सी’को अर्थ क्रोमर हो, जुन ४७ रक्त समूहहरूमध्ये एक हो । ‘आई’को अर्थ इन्डिया र ‘बी’को अर्थ बेंगलुरू हो । सरलरूपमा बेंगलुरूनजिकै एक महिलामा फेला परेको रक्त समूह हो ।
यो रक्त समूह अत्यन्तै दुर्लभ भएका कारण ३८ वर्षीया ती महिलाको मुटु शल्यक्रियाको समयमा डाक्टरहरूले रक्तसञ्चार (रगत चढाउने)को आवश्यकता पर्ने सम्भावनालाई ध्यानमा राखेर सामान्यतया गरिने एक वा दुई बोतल रगत तयार राख्ने प्रक्रियासमेत अपनाएनन् । किनभने विज्ञहरू ती महिलाको रक्त समूह पहिचान गर्न सकिरहेका थिएनन् ।
यस घटनाको ११ महिनापछि डा. अंकित माथुरले शल्यक्रियाको दिन सम्झिँदै राहतको सास फेरेका छन् । उनको शल्यक्रिया अतिरिक्त रगत नचढाइ सफलतापूर्वक सम्पन्न भएको थियो ।
डा. अंकित माथुर बेंगलुरुको रोटरी–टीटीके रक्त केन्द्रका अतिरिक्त चिकित्सा निर्देशक हुन् । कोलारको आरएल जलप्पा अस्पतालका डाक्टरहरूका लागि उनी मुख्यसम्पर्क व्यक्ति थिए । सोही अस्पतालमा ती महिलालाई मुटुसम्बन्धी समस्या देखिएपछि शल्यक्रियाको सल्लाह दिइएको थियो ।
डा. माथुरले बीबीसीलाई भने, “ती महिलाको रक्त समूह कुनै पनि अन्य समूहसँग मेल खाइरहेको थिएन । हामीले अन्य रक्त समूहहरूसँग मिलाएर परीक्षण गर्यौँ । तर, हरेकपटक त्यसले प्रतिक्रिया जनायो ।”
उनले थपे, “त्यसपछि हामीले उनको परिवारमै खोजी सुरु गर्यौँ । हामीले परिवारका २० सदस्यको रगतको नमुना लियौँ । सबैले हामीलाई सहयोग पनि गरे । तर, कसैको रगत पनि उनको रक्त समूहसँग मेल खाएन ।”
त्यसपछि अर्को विकल्प थियो– रगतको नमुना यूकेको ब्रिस्टलस्थित इन्टरनेसनल ब्लड ग्रुप रेफरेन्स ल्याबोरेटरीमा पठाउने । यो त्यही प्रयोगशाला हो, जहाँ विश्वभरबाट रगतका नमुना पठाइन्छन्, ताकि तिनीहरू अन्य रक्त समूहसँग मेल खान्छन् कि खाँदैनन् भनेर परीक्षण गर्न सकियोस् ।
डा. माथुरका अनुसार, “यसको पूर्ण विश्लेषण गर्न उनीहरूलाई १० महिना लाग्यो । फेब्रुअरी–मार्चतिर उनीहरूले बिरामीको रगतमा एक अद्वितीय एन्टिजन भेटिएको जानकारी पठाए । त्यसपछि यो जानकारी इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजनलाई पठाइयो । ”
“त्यहाँ रेड ब्लड सेल इम्युनोजेनेटिक्स एन्ड टर्मिनोलोजी समूहका विशेषज्ञहरूले ‘सीआरआईबी’ नामलाई अनुमोदन गरे,” उनले भने ।
यसै वर्ष जुन महिनामा इटालीको मिलानमा आयोजित इन्टरनेसनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजनको ३५औँ सम्मेलनमा यसको आधिकारिक घोषणा गरिएको थियो ।
बीबीसी हिन्दीबाट ।


