काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने जनाएका छन्।
स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र गल्ती गर्ने आत्मालोचना पनि गर्ने जनाए । ‘छलफल चलिरहेको छ। जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्ने कुरा हो,’ अध्यक्ष प्रचण्डले भने।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्माबीच द्वन्द्व चलिरहेको छ। नेतृत्वको सवालमा उनीहरूबीच चर्काचर्कीसमेत हुने गरेको छ। बैठकमा अध्यक्ष प्रचण्डले नेता शर्मालाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए।
पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै प्रचण्डले अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए। बैठकमा बोल्ने क्रममा नेता शर्माले अध्यक्ष प्रचण्डले पनि आत्मालोचना गर्नुपर्ने बताएका थिए। नेतृत्व कमजोरीका हिसाबले अध्यक्षले आत्मालोचना गरे आफू पनि आत्मालोचना गर्न तयार रहेको शर्मा बताएको स्रोतहरूले जानकारी दिएको छ।


