काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि आफ्नो जीवनको आहूति गर्ने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्न नहुने जनाएका छन्।
आइतबार बालुवाटारमा बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले देशका लागि योगदान गर्ने नेताहरुमाथि फराकिलो दृष्टिकोण राख्नुपर्ने जनाए।
जवाफ दिन आउन नसक्ने भएकाले दिवंगत नेताहरुमाथि कुनै आरोप लगाउन नहुने उनको भनाइ थियो। बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी अब पार्टी विशेषको नेता नभई देशको नेता भएको उनले जनाए।
उनले भने, ‘आफ्नो जीवन देशका लागि आहूति गर्नेहरुको सन्दर्भमा फराकिलो दृष्टिकोण लिनुपर्छ। सबै नेताहरुको सम्बन्धमा साँघुरो दृष्टिकोण राख्नु हुँदैन। उहाँहरुको सन्दर्भमा अब हामीले कुनै नकारात्मक टिप्पणी गर्नु हुँदैन, कुनै आरोपित गर्न हुँदैन। किनभने उहाँहरु जवाफ दिन हुनुहुन्न उहाँ।’


