हेनान (चीन) । उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तररागर्नष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको जनाएकी छिन् ।
आज चीनको हेनान प्रान्तमा आयोजित साङ्घाई सहयोग मञ्चको कार्यक्रम ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षा विषयक’ सत्रमा सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका प्रमुखको हैसियतले उपसभामुख रानाले विश्वजलवायु परिवर्तनमा खासै योगदान नभएको हिमाली मुलुक नेपाल सबैभन्दा बढी प्रभावित भई त्यसको प्रत्यक्ष असर सामना गर्नुपरेको जनाएकी हुन् ।
“हामीले यो सङ्कट निम्त्याएका होइनौँ, तर पनि हामी समाधानको हिस्सा बन्न तयार छौँ”, उनले भनिन्, “जलवायु परिवर्तनका असर कम गर्न, हरित ऊर्जा प्रवद्र्धन गर्न र जलवायु न्याय सुनिश्चित गर्न जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित नेपाललाई तत्काल अन्तरराष्ट्रिय ऐक्यबद्धताको खाँचो छ । यसतर्फ विश्वजगतबाट साथ सहयोग प्राप्त हुने विश्वास लिएकी छु ।”
सम्बोधनका क्रममा उपसभामुख रानाले हिमाली राष्ट्रका रूपमा नेपाल जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहनु, हिमनदी पग्लनु र छिटो मौसम परिवर्तन हुनुका साथसाथै ग्रामीण र हिमाली क्षेत्रमा प्रतिकूल प्रभाव पारिरहेको घटनाक्रम प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण नेपाल अप्ठ्यारो स्थितिमा रहेको भनी अन्तरराष्ट्रिय जगतको ध्यानाकर्षण गराइन् ।


