काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई दिइने वार्षिक ब्याजदर तथा विभिन्न सापटीमा लिने ब्याजदर संशोधन गरेको छ । कोष सञ्चालक समितिको निर्णय अनुसार नयाँ ब्याजदरहरू आजदेखि लागू गरिएको छ ।
त्यस्तै, कोषले उपलब्ध गराउने विभिन्न सापटीमा लिइने ब्याजदर यसप्रकार छ:
- विशेष सापटी: ६.२५ प्रतिशत
- घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटी: ७.२५ प्रतिशत
- जग्गा खरिद सापटी तथा सरल सापटी: ७.५० प्रतिशत
विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्तालाई ०.२५ प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।
कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण तथा घर-जग्गा खरिदका लागि रु. १ करोडसम्म, घर मर्मतका लागि रु. ३० लाखसम्म, शैक्षिक सापटी (स्वयं, पति/पत्नी वा छोरा/छोरीको उच्च शिक्षाका लागि) रु. ४० लाखसम्म र भैपरी आउने कार्यका लागि सरल सापटी अन्तर्गत रु. ६० लाखसम्म सापटी उपलब्ध गराउँदै आएको छ ।
यस्तै, सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा आधारित भई ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा दिइने व्यवस्था पनि कायम रहेको कोषको भनाइ छ ।
हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र तथा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फका गरी करिब ५ लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार ३९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आबद्ध रहेका छन् ।


