काठमाडौं । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मन्त्री गुप्ताले मंगलबार बिहान राजीनामा दिएको बालुवाटार स्रोतले जानकारी प्राप्त भएकाे छ ।
स्रोतका अनुसार यसअघि सोमबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार मन्त्री गुप्ता आज राजीनामा बुझाएर हिँडेका हुन् ।
प्रधानमन्त्री ओली सिनेटको बैठकमा भएकाले मन्त्री गुप्ता प्रधानमन्त्रीका स्वकीय राजेश बज्राचार्यलाई पत्र बुझाएर हिँडेका हुन् । ‘मन्त्रीको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले उहाँसँग सोधखोज गर्नुभएको थियो । हिजो बिहानको बालुवाटारमा भएको सोधखोजका क्रममा प्रधानमन्त्रीले २४ घण्टाभित्र राजीनामा दिन निर्देशन गर्नुभएको थियो,’ प्रधानमन्त्री ओली निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रधानमन्त्री सिनेटको कार्यक्रममा हुनुहुन्थ्यो । त्यसैले मंगलबार बिहान ११ बजेतिर बालुवाटार आएर प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यलाई एउटा पत्र बुझाएर मन्त्री गुप्ता निस्कनुभएको छ ।’
राजीनामा नदिए हटाउने तयारी प्रधानमन्त्रीको थियो ।
आफूलाई नखाएको विष लागेको भन्दै अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको मन्त्री गुप्ताले बताए । ‘कहिले काही नखाएको बिष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्मान्नीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु,’ उनले भनेका छन् ।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादित बनेका थिए ।
अडियो बाहिरिएपछि प्रधानमन्त्री ओलीले यसअघि पनि गुप्तासँग सोधखोज गरेका थिए ।
आफूलाई फसाउने नियतले पैसाको पोको नै मन्त्री क्वार्टरमा छोडेर अडियो बनाएको दाबी गुप्ताले गरेका थिए । मन्त्री गुप्ताले अडियो काण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकारेका थिए ।
प्रधानमन्त्री ओलीलाई मौखिक स्पष्टीकरण दिँदै मन्त्री गुप्ताले पैसा क्वार्टरमै भेटिएको स्वीकारेका थिए । यद्यपि, सो पैसा आफूलाई फसाउनका लागि क्वार्टरमा छाडेर त्यसअनुसारको अडियो रेकर्ड गरिएको हुन सक्ने उनको दाबी थियो ।
स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको हो । मन्त्री गुप्ताले यस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मुछेका छन् । गुप्ताले बिहान ६ बजे नै रञ्जिता र उनका मान्छेले मन्त्री क्वार्टरमा आएर पैसा छाडेर फसाउन खोजेको आरोप लगाएको स्रोतले बतायो ।
उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ । उनी पर्सा क्षेत्र नम्बर- ३ बाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद हुन् ।


