रौतहट । रौतहटको कटहरीया नगरपालिकामा आजदेखि T10 क्रिकेट प्रतियोगिताको दोस्रो सिजन (Season 2) औपचारिक रूपमा सुरु गरिएको छ। वडा नं. ४ का अध्यक्ष तथा मेयर पदका उम्मेदवार चन्दन कुमार कुशवाहाको पहलमा आयोजना गरिएको प्रतियोगिता युवाहरूमा खेलप्रतिको रुचि बढाउने र स्थानीय खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यसहित सुरु भएको हो।
कार्यक्रमको उद्घाटन मेयर उम्मेदवार चन्दन कुमार कुशवाहाले रिबन काटेर गर्नुभयो। उद्घाटन समारोहमा विशिष्ट अतिथि सयामाकन्थ प्रसाद यादव र चर्चित स्थानीय कलाकार सोनु कुशवाहासमेत सहभागी थिए।
प्रतियोगिताको पहिलो खेल बहादुरपुर र बालुवा टिमबीच सुरु भएको छ। बिगत वर्षको सिजन १ मा हर्साहा कटहरीया टिमले सुपर ओभरमा २ रनको रोमाञ्चक जित हात पारेको थियो। यस वर्षको प्रतियोगिता झन प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष कुशवाहा स्वयं कटहरीया क्रिकेट टिमका पूर्व कप्तान समेत रहनु भएकोले उहाँले हरेक वर्ष खेल आयोजनामा सक्रिय भूमिका खेल्दै आउनुभएको छ।
यस पटक प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. १२,५०० र दोस्रो हुने टिमलाई रु. ८,५०० पुरस्कार प्रदान गरिने छ।
स्थानिय खेलाडी, युवा तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति र जोशपूर्ण सहभागिताले प्रतियोगितालाई थप उत्साहजनक बनाएको छ। आयोजकले खेलकुदमार्फत समाजमा सकारात्मक सन्देश फैलिने विश्वास व्यक्त गरेका छन्। दिपेश कुमार शाह


