काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ।
मंगलबार महानगरपालिकाको सातौँ नगर सभामार्फत आगामी आर्थिक वर्षको लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याइएको हो। महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य वाचन गरेकी थिइन्।
महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रशासनिक खर्चतर्फ २९ प्रतिशत र पुँजीगत खर्चतर्फ ६१ प्रतिशत बजेट विनियोजन गरेको नगरप्रमुख चिरीबाबु महर्जनले बताए। उनले शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याइएको जनाए।
उनले ललितपुर महानगरपालिका सम्पदा सहर भएकोले सम्पदा क्षेत्रमा गर्नुपर्ने कामहरूलाई विचार गरेर बजेटको व्यवस्था गरिएको जानकारी गराए। नगरप्रमुख महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने सन्दर्भमा हरियाली, पार्क र पोखरीको राम्रो व्यवस्थापन हुने गरी बजेट ल्याइएको समेत जिकिर गरे।
नगरप्रमुख महर्जनले लगनखेलको सप्तपातल पोखरीलाई प्राथमिकतामा राखेर यही वर्ष सम्पूर्ण काम सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको समेत जनाए।


