काठमाठौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव बर्षमान पुनले जेठ ३० गते माओवादीसंग भएको दुई बुदे सहमति अनुसार सरकारले छानबिन समिति बनाएको भन्दै धन्यवाद दिए ।
उनले भिजिट भिसा प्रकरणमा अख्तियारले समेत अनुसन्धान गरिरहेको अवस्थामा अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर रहेका जनताका विषयलाई सरकारले गठन गरेको समितिले अध्ययन गर्ने विश्वास व्यक्त गरे । उनले जनताको सुझाव अनुसार समितिले प्रतिवेदन बुझाउने विश्वास व्यक्त गर्दै प्रतिपक्षीको हैसियतले माओवादीले पनि खवरदारी गरिरहने धारणा राखे । ‘सरकारले हिजोमात्रै उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । त्यसका लागि म सरकारलाई धन्यवाद व्यक्त गर्न चाहान्छु,’ पुनले भने ।


