काठमाडौं । प्रतिनिधि सभाको छैटौं अधिवेशनअन्तर्गत ३७ औं बैठक सोमबार बिहान ११ बजेदेखि जारी रहेकाे छ । बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत बजेटमा उठेका प्रश्नहरूको मन्त्रीहरूबाट जवाफ र स्पष्टीकरण दिने कार्यक्रम तय भएकाे छ ।
असार ५ गतेदेखि सुरु भएको मन्त्रालयगत बजेट छलफलपछि आजदेखि सम्बन्धित मन्त्रीहरूले सांसदहरूका जिज्ञासामा उत्तर दिने भएका हुन् ।
आजको कार्यसूचीमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, रक्षा मन्त्री मानवीर राई, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी लगायतका मन्त्रीहरूले जवाफ दिनेछन् ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी पनि आजै बजेट सम्बन्धी प्रश्नको जवाफ दिनेछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।
यस्तै, परराष्ट्र मन्त्री डा. आरजु राणा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, गृह मन्त्री रमेश लेखक र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।


