काठमाडौं। पूर्वसहायक मन्त्री खगेन्द्रजंग गुरुङको निधन भएको छ। उनको ९५ वर्षको उमेरमा सोमबार नर्भिक अस्पतालमा निधन भएको भयो। उनको सोमबार नै पशुपति आर्यघाटमा आफन्तहरूका बीच अन्त्येष्टि गरिएकाे छ ।
लमजुङ घनपाेखरा निवासी गुरूङ राजा त्रिभुवन अस्वस्थ भई युवराज महेन्द्रले राष्ट्रप्रमुखको कार्यकारी सम्हालेको अवस्थामा उनका विशेष दूतका रुपमा चिनियाँ क्रान्तिका अग्रणी नेता माओत्सेतुङ र चाओ एनलाइसँग भेट्न विशेषदूतका रुपमा गएका थिए।
उनले केही वर्षअघि गरेको खुलासाअनुसार राजा महेन्द्रले क्षेत्रीय भूराजनीतिको त्यसबेलाको अवस्थाबारे चिनियाँ नेताद्वयको ध्यानाकर्षण गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति सकारात्मक र संवेदनशील रहिदिन आग्रह गरेका थिए।
गुरुङले महेन्द्रको पत्र आफूले नपढेता पनि वरिष्ठ चिनियाँ नेताहरूको उनीसँगको कुराकानीको आधारमा त्यो निष्कर्ष निकालेको पनि जनाएका थिए।
निडर, हक्की र राष्ट्रको अखण्डताप्रति स्पष्ट मान्यता बोकेका गुरुङले वि.सं. तीसको दशकमा मुस्ताङमा तिब्बतको स्वतन्त्रताको लागि भएको खम्पाकाण्डमा मुस्ताङी राजाको समर्थनका साथ नेपाली सेनाले चलाएको सैन्य अभियानमा सफलताका लागि आफूले भूमिका खेलेको जनाएका थिए।


