काठमाडौं । सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि नेपाली सेनाबाहेक १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने भएको छ।
मंगलबार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलनमार्फत यसबारेमा जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपद् न्यूनीकरण, विपद्पछि हुने राहत, उद्धारका लागि नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा राखेको जनाए।
उनले नेपाली सेनाले पनि सोहीअनुसार जनशक्ति तयार पारेको स्पष्ट पारे। सोहीअनुसारको उपकरणहरु पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ। चाहेर पनि विपद् जोखिम न्यूीकरणमा होमिने अवस्था नरहेको उनले जनाए।
सीमित श्रोत साधनका कारण यो अवस्था आउनसक्ने उनको भनाइ छ। सीमित श्रोत साधनलाई अधिकतम उपयोग गर्ने र विगतका वर्षहरुबाट पाठ सिक्दा सीमित श्रोत साधनका कारण सुरक्षा निकायले चाहेर उद्धार, खोज गर्न नसक्ने स्थिति रहेको उल्लेख गरे।
सुरक्षा निकायसँग रहेको प्रविधि, खोज सामग्रीहरु, जनशिक्तको अभाव रहेकाले त्यसलाई पूर्ति गर्नुपर्ने आवश्यकता रहेको उनको धारणा थियो। मनसुन प्रतिकार्य कमाण्ड पोस्टको कार्य जिम्मेवारी विगतमा स्पष्ट नरहेकाले यस वर्ष कार्य जिम्मेवारी स्पष्ट गरिएको उल्लेख गरे। मनसुन प्रतिकार्य कमाण्ड पोस्ट केन्द्रमा मात्र नभइ प्रदेश, जिल्ला, स्थानीय तहमा रहने जनाए।
प्राधिकरणका अनुसार विगत १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना भएका छन्। जसबाट २ हजार ३ सय १७ जनाको निधन भएको छ। त्यस्तै, ४ सय १९ जना बेपत्ता भएका छन् भने २ हजार ६ सय ४९ जना घाइते भएका छन्।
गत वर्षको मनसुनमा ७७ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको थियो। असोज १० देखि १३ गतेसम्मको अवधिमा २ सय ५० जनाको मृत्यु भएको छ। ४५ अर्ब बराबरको सोही अवधिमा क्षति भएको थियो। गत वर्षमात्रै २ हजार १ सय ३८ वटा विपद्जन्य घटनाबाट ४ सय ९५ जनाको ज्यान गएको थियो। ६६ जना बेपत्ता भएका थिए।


