काठमाडौं । मिटर ब्याज पीडितलाई सिंहदरबार प्रवेश निषेध गरिएकाे छ । सरकारले नयाँ गठन गरेको जाँचबुझ अयोगसँग छलफलका लागि पुगेका मिटर ब्याज पीडितहरुलाई प्रहरीले दक्षिण गेटबाटै फर्काएको हो ।
मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविनका अनुसार सोमबार आयोगका टोलीसँग देशभरका मिटर ब्याज पीडितका प्रतिनिधिहरुले वार्ता गर्ने तय भएको थियो ।
त्यसैको तयारी स्वरुप आयोगको टोलीले नै पास पठाएर मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रिय पदाधिकारीहरु सिंहदरबार बाहिर पुगेका थिए । तर उनीहरुलाई गृह मन्त्रालयबाटै बस्न नदिनु भन्ने आदेश आएको भन्दै प्रहरीले छिर्न नदिएको प्रवक्ता नविनले जानकारी दिए ।
सरकारले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा बनाएको जाँचबुझ आयोगसँग मिटर ब्याज पीडितहरुले सोमबार छलफल गर्ने तय भएको थियो ।
सिंहदरबार गेटमा बसेका प्रहरीले भने नागरिकताको सक्कल कपि नभएकाले भित्र छिर्न नदिएको बताएपनि आयोगले पास पठाइसकेपछि प्रहरीले माथि आदेश भन्दै रोकेको पीडितहरुको दाबी छ । पास पठाउने सन्दर्भमा पनि आयोगले संख्या तोकेको भन्दै उनले भने,‘सरकारले अहिले तेस्रो आयोग गठन गरेको छ, यसभन्दा अघिका आयोगको गठन तथा विगठन तथा के कति काम भए भन्ने कुनै पनि जानकारी छैन। त्यही जानकारीका लागि आइतबार जान खोजेका थियौं।’
विगतका आयोगबाट के कति काम भए भनेर बुझ्न र सोमबार हुने भनिएको छलफलको पुर्व तयारी गर्न आयोगका पदाधिकारीसँग भेट्न खोजेको उनको धारणा छ ।
केहि दिन अघि रुपन्देही कारागारमा रहेको पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेटन् गएका मिटर ब्याज पीडितले पीडितहरुका लागि सिंहदरबारको गेट बन्द भएको गुनासो सुनाएका थिए ।
लामिछाने गृह मन्त्री भएका बेला मिटर ब्याज पीडितका लागि ठोस कदमहरु चालिएपनि अहिलेको सरकारले वेवास्ता गर्दै आएको पीडितहरुको धारणा छ ।

