काठमाडाैं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले मंगलबार आयोजक भारतको सामना गर्दैछ ।
राति साढे ७ बजेदेखि सुरु हुने यो खेल नेपाली टोलीका लागि निर्णायक सावित हुन सक्नेछ ।
समूह ‘ए’ अन्तर्गतको यो अन्तिम खेलले नेपाल समूह विजेता बन्नेछ वा उपविजेता बनेर सेमिफाइनल पुग्ने भन्ने निर्णय गर्नेछ । समूहको अर्को टिम श्रीलंकामाथि भारत र नेपाल दुवैले एकपक्षीय जित निकालेपछि मंगलबारको खेल नै समूह चरणको शीर्ष स्थान निर्धारण गर्ने निर्णायक अवसर बनेको हो ।
नेपालले आइतबार राति श्रीलंकालाई ५–० ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरिसकेको छ । सो खेलमा सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले समान एक/एक गोल गर्दै टोलीलाई सानदार जित दिलाएका थिए ।
भारतले पनि आफ्नो पहिलो खेलमा श्रीलंकालाई ८–० को विशाल अन्तरले पराजित गरिसकेको छ । दुवै टोलीसँग एक/एक जित रहे पनि गोलअन्तरमा भारत अगाडि छ । त्यसैले समूह विजेता बन्न नेपाललाई भारतमाथि स्पष्ट जित निकाल्नैपर्छ । बराबरी भएमा भारत शीर्ष स्थानमा रहनेछ ।
समूह विजेता बन्ने टिमले अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ, जुन तुलनात्मकरूपमा सहज विपक्षी हुन सक्छ । तर, उपविजेता बनेको खण्डमा नेपालले अर्को समूहको विजेतासँग भिड्नुपर्नेछ, जसले यात्रा कठिन बनाउन सक्छ । यही समीकरणले नेपालका प्रशिक्षक र खेलाडीलाई भारतविरुद्ध जित निकाल्न अझ बढी प्रेरित बनाएको छ ।
नेपालले उमेर समूहको साफ च्याम्पियनसिपमा अन्तिमपटक सन् २०१७ मा उपाधि जितेको थियो । त्यसयता ८ वर्षमा नेपाल एकपटक मात्र फाइनल पुगेको छ । त्यो अवसर गत वर्ष काठमाडौंमा सम्पन्न यू–२० साफ प्रतियोगितामा आएको थियो, तर उपाधि भिडन्तमा बंगलादेशसँग हार्दै नेपाल उपविजेता बनेको थियो ।
यो पटकको च्याम्पियनसिप नेपालका लागि विगतका विफलता मेटाउँदै नयाँ इतिहास रच्ने मौका हो । टिमले श्रीलंकाविरुद्धको प्रदर्शनमा आत्मविश्वास देखाएको छ ।
भारतविरुद्धको भिडन्त अब केवल समुहको अवस्था निर्धारण गर्ने खेल मात्र छैन । यो नेपाली टिमको मानसिक तयारी, दबाबमा टिक्न सक्ने क्षमता र उपाधि यात्रा तय गर्ने हैसियत समेत जाँच्ने ‘अग्निपरीक्षा’ हो ।
टिम व्यवस्थापन, प्रशिक्षक र खेलाडीहरू समूह शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने रणनीतिसहित मैदान उत्रन लागेका छन् । नेपालले मंगलबार भारतलाई हराउन सके उपाधि यात्रामा एउटा बलियो पाइलो राख्नेछ ।

