कीर्तिपुर । प्लास्टिकजन्य फोहोरले वातावरणमा पुर्याइरहेको गम्भीर क्षतिको समाधानका लागि, कीर्तिपुर नगरपालिकामा महिला समूहहरूले शनिबारदेखि नबिनतम् कदम चालेका छन्।
‘Centre for Integrated Urban Development’ (CIUD) द्वारा सञ्चालित PLEASE परियोजना अन्तर्गत र कीर्तिपुर नगरपालिकाको सहकार्यमा आयोजित सात दिने व्यवसाय विकास तालिमबाट ‘प्लास्टिक केयर’ नामक उद्यमको स्थापना भएको हो। उक्त तालिममा सहभागी महिलाहरूलाई व्यवसायिक सीप र योजना विकासमा मार्गदर्शन दिइएको थियो।
विभिन्न समूहहरूले आफ्ना व्यवसायिक योजना प्रस्तुत गरेपछि नगरपालिकाबाट मनाेनित निर्णायक मण्डलले ‘ग्रुप बी’ को योजना छान्ने निर्णय गर्यो। त्यसपछि, समुहले आफ्नो उद्यमलाई ‘प्लास्टिक केयर’ को रुपमा दर्ता गरे। प्लास्टिक केयर की महिलाहरूले तालिमपछि प्लास्टिक रिसाइकल सम्बन्धी मेशिन सञ्चालन गर्ने सीप प्राप्त गरेका छन् ।
अहिले उनीहरूले कुर्सी, मेच, टेबल, फूलदानी, कोस्टर, की-रिङ्ग आदि प्लास्टिक पुनःप्रयोग गरी आकर्षक फर्निचर तथा सामग्रीहरू उत्पादन गरिरहेका छन्। बजारबाट अर्डरहरू प्राप्त हुन थालेपछि महिलाहरूको उत्साह दोब्बर भएको छ। उनीहरूले प्रयोग गरिएको प्लास्टिक स्थानीय घर–घरबाट संकलन गरी रिसाइकल प्रक्रिया सुरु गरेका छन्। यसरी समुदायकै सहभागिता सुनिश्चित गरिँदै, प्लास्टिकलाई फोहोर होइन, स्रोतको रूपमा प्रयोग गरिएको छ।
उनीहरूले प्रयोग भइसकेको प्लास्टिक संकलन गरी सफा गर्ने, धुने, सुकाउने, टुक्र्याउने, र पुनः प्रयोग गर्ने प्रक्रिया अपनाई वातावरणमैत्री उत्पादन निर्माण गरिरहेका छन्। यस्ता प्रयासहरूले प्लास्टिकजन्य फोहोर घटाउने मात्र नभई महिलाहरूको आर्थिक सशक्तिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।
प्लास्टिक केयर एउटा ज्वलन्त उदाहरण हो कि जब स्थानिय समुदायलाई सही सीप, प्रोत्साहन र अवसर प्रदान गरिन्छ भने, उनीहरूले दिगो वातावरणीय समाधान दिनसक्छन्। हामी सबैले यस्ता स्थानीय उद्यमलाई सहयोग र प्रवर्द्धन गर्नु अत्यन्त जरुरी छ। प्लास्टिक केयर जस्ता पहलहरूलाई साथ दिएर प्लास्टिक प्रदूषण घटाउन हातेमालो गर्नुपर्नेमा सिआइयुडीका कार्यकारी निदेर्शक नविन बिकास महर्जनले जोड दिएका छन् ।


