काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन् ।
तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
१२ जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको थियो । त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा २१ जना रिहा भएका थिए । यो सँगै हाजिर जमानीमा बस्नेको संख्या ३३ पुगेको हो ।
प्रहरीले आपराधिक उपद्रव कसुरमा पक्राउ परेकाहरूलाई बयान सकेर हाजिर जमानीमा छाडेको भएपनि राज्यविरूद्धको कसुरमा पक्राउ परेकाहरूलाई भने प्रहरीले रिहा गरेको छैन । राप्रपाका सांसद धवलशम्शेर राणालाई पनि राज्यविरूद्धको कसुरमा अनुसन्धान भएको थियो ।
स्वास्थ्य उपचारका लागि उनलाई पनि हाजिर जमानीमा राखिएको थियो। उनी भारतमा उपचार गरी नेपाल फर्किसकेका छन् । रविन्द्र मिश्र, दुर्गा प्रसाईं उनका अंगरक्षक दीपक खड्का, सहित २५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


