काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं – १ का प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले नेवार संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने जनाएका छन्।
बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले विदेशीहरुलाई नेवार संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने जनाएका हुन्।
उनले नेवार संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने जनाए।
नेता सिंहले नेवारहरूको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडि बढाउनुपर्ने जनाए।
‘अब हामीले लामो कुरा गर्नेभन्दा पनि कामले गरेर देखाउनुपरेको छ। समय परिवर्तनशिल छ र परिवर्तित समय अनुसार हामीले आफ्नो समुदायलाई सुहाँउँदो किसिमले आफ्नो काम गर्ने तरिकामा, सोचमा, गराईमा हामीले समयको माग बमोजिम सिक्नुपर्छ र त्यही अनुसार अगाडी बढ्नुपर्छ। तर समय परिवर्तनशिल छ भन्दैमा हाम्रा पुर्खाहरूले स्थापित गरेको हाम्रो मौलिक संस्कृतिलाई पनि हामीहरुले पूरै अवमूल्यन (टोटल्ली माइनस) गर्न मिल्दैन भन्ने कुरामा सजग हुनुपर्छ।’ उनले भने,’हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो। नेवारी भाषाको जोड दिएर जुन रुपमा अगाडी बढाउनुपर्ने हो त्यसमा सबै मिलेर काम गर्नुपर्छ। यसलाई हामी सबैले महशुस गर्नुपर्छ।
हाम्रो जुन संस्कृति छ। नेपालको विदेशीहरुले चिन्ने भनेकै नेवार संस्कृतिबाट नेपाललाई चिनाउने सशक्त माध्यमको रुपमा अझ काम गरेर अगाडी बढाउनुपर्छ। यसमा ध्यान दिनुपर्छ।’
उनले पुर्खाहरूले स्थापित गरेका मौलिक संस्कृतिहरूलाई नयाँ पुस्ताले अवमूल्यन गर्नु नहुने जनाए। यद्यपि, समय अनुसार भने परिवर्तन भने हुँदै जानुपर्ने उनको भनाई छ।