काठमाडौं। नेपाल प्रहरीले पछिल्ला दिनमा प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देश प्रचार भइरहेको भन्दै त्यसबारे जानकारी लिन साइबर ब्युरोले केही सञ्चारकर्मीलाई बोलाएको प्रष्टीकरण दिएको छ।
यस्ता प्रचारले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना पैदा गर्ने प्रहरीले विज्ञप्तिमार्फत बताएको हो।
यस विषयमा प्रधानमन्त्री कार्यालयबाट चासो व्यक्त भएपछि त्यसप्रति क्रियाशील हुँदै साइबर ब्युरोले सञ्चारकर्मीलाई बोलाएको प्रहरीको भनाइ छ । ‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ प्रहरीले विज्ञप्तिमा भनेको छ।
प्रहरीले यसलाई सुरक्षित समाज निर्माणमा सहयोग पुग्ने कार्यका रूपमा व्याख्या गरेको छ । साथै, प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति आफू सधैँ प्रतिबद्ध रहेको जनाएको छ ।
‘राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीको यो स्पष्टीकरण नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीसहितका पत्रकारलाई नियन्त्रणमा लिइएको र विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेको घटनापछि आएको हो ।
शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाटै नियन्त्रणमा लिएर साइबर ब्युरो पुर्याएको थियो ।
डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराललाई प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै, पत्रकार नवराज मैनालीको खोजी गर्दै प्रहरी नयाँ पत्रिका दैनिकको कार्यालय पुगेको थियो ।
प्रहरी टोलीले मैनालीलाई साइबर ब्युरो लैजानुपर्ने भन्दै कार्यालयमा खोजी गरेको थियो । घटनाका क्रममा सम्पादक खगेन्द्र पन्तले पक्राउ पुर्जीबिना पत्रकारलाई लैजान खोजिएको भन्दै आपत्ति जनाएका थिए । यस्तै, दियोपोस्टको कार्यालयमा पनि प्रहरी पुगेको थियो ।
प्रधानसम्पादक सुदीप विश्वकर्मा र सम्पादक रीता बुढाथोकीको खोजी गर्दै प्रहरी टोली कार्यालय पुगेको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन्। यी घटनापछि सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेको र पत्रकारलाई नियन्त्रणमा लिन खोजिएको भन्दै प्रेस स्वतन्त्रता तथा पत्रकारको सुरक्षा र समाचार संकलनको वातावरणबारे गम्भीर प्रश्न उठेको छ ।


