चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ ।
चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो ।
यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै संघले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका अध्यक्ष विनोद पोखरेलले जनाए ।
नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी ९कार्टुन०रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ ।
अध्यक्ष पोखरेलले ६ कात्तिकमा रु तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब रु तीन हजार ९०० पुगेको छ । १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य रु तीन हजार ६०० बाट बढेर रु तीन हजार ८०० पुगेको छ । १२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य रु तीन हजार ५०० बाट बढेर रु तीन हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए । एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने रु तीन हजार १०० बाट बढेर रु तीन हजार २०० पुगेको छ ।
उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा रु २५ र मिडियम अण्डाप्रति दुई वटाको रु ४५ कायम गरिएको छ । फार्म मूल्य प्रतिपेटी रु २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले जनाए । पर्वहरूसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए ।


