, काठमाडौं । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्नम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले २८ अक्टोबर (११ कात्तिक) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन भनेको हो ।
प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन, आवश्यकता अनुसार अन्य हवाई सेवा इकाइसँग समन्वय गर्न तथा मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भए उडान मार्ग परिवर्तन, होल्डिङ र अन्य आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
त्यस्तै भारी वर्षा वा प्रतिकूल मौसमका कारण जहाजको उडानमा असर पर्न सक्ने भएकाले राडार नियन्त्रकलाई आवश्यक दुरी कायम गर्न भनिएको छ । हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), तीव्र वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबतास सम्बन्धी जानकारी उडान भर्ने तथा अवतरण गर्ने जहाजलाई तत्काल उपलब्ध गराउन पनि परिपत्रमा उल्लेख छ ।
प्राधिकरणले वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने तथा जहाजको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिम ध्यानमा राख्दै नियमित निरीक्षण गर्न निर्देशन दिएको छ ।
विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच निरन्तर समन्वय कायम गर्न, तीव्र हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली नियमित सञ्चालनमा रहेको सुनिश्चित गर्न भनिएको छ ।
कुनै उपकरण वा प्रणाली सञ्चालनमा समस्या आए तत्काल आवश्यक सूचना जारी गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ । वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्यांकन गर्न, सम्भावित ढिलाइ, होल्डिङ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था ध्यानमा राख्न र पर्याप्त इन्धन व्यवस्थापन सहित निर्धारित सुरक्षा प्रक्रिया पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।
त्यसैगरी सम्बन्धित सबै निकायलाई हवाई मार्ग सेवा तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न तथा कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटनाबारे निर्धारित माध्यमबाट तत्काल जानकारी गराउन समेत निर्देशन दिइएको छ ।


