काठमाडौं । दसैंं, तिहार तथा छठ पर्वको सार्वजनिक बिदामा पनि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरको ठेगानासम्म नि:शुल्क ढुवानी हुने भएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले चाडपर्वका समयमा समेत शव ढुवानी सेवा निरन्तरता दिन चौबिसै घण्टा सेवा सञ्चालन हुने गरी सम्पर्क कर्मचारी तथा शव ढुवानी सेवा प्रदायकहरू तोकेको छ ।
वैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ (क) अनुसार वैदेशिक रोजगारी क्रममा मृत्यु भएका श्रमिकको शव त्रिभुवन विमानस्थलबाट सम्बन्धित श्रमिकको घर ठेगानासम्म नि:शुल्क ढुवानी हुँदै आएको छ ।
चाडपर्वका बेला पनि सेवा सहज र व्यवस्थित सञ्चालन गर्न बोर्डले सम्पर्क कर्मचारी तोकेको हो । बोर्डका अनुसार शव ढुवानी सम्बन्धी जानकारी वा समन्वय आवश्यक परे सूचना अधिकारी तथा प्रवक्ता शारदा भण्डारी र सुरज ढुंगानालाई सम्पर्क गर्न सकिने छ ।
त्यस्तै शव ढुवानी सेवाका लागि सेती गणेश सप्लायर्स, आरडी ढुवानी सेवा, बुद्धध्वज ढुवानी सेवामा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।
बोर्डले शव ढुवानी सेवा नि:शुल्क र निरन्तर सञ्चालन हुने भन्दै सम्बन्धित परिवारलाई आवश्यक समन्वयका लागि तोकिएका सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयको टोल फ्री नम्बर ११४१ मा सम्पर्क गर्न सकिने छ । चाडपर्वमा समेत सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।


