काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन् ।
दुवै विमानस्थलको निरीक्षण गरेर फर्किएका मन्त्री पौडेलले बिहीबार मन्त्रालयमा प्राधिकरणका पदाधिकारीसँग छलफल गर्दै आवश्यक प्राविधिक तथा सम्भाव्यता अध्ययन अघि बढाउन निर्देशन दिएका हुन् ।
क्यानका अनुसार मन्त्री पौडेलको नेतृत्वमा प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रका पदाधिकारीले असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण गरेका थिए । भ्रमणका क्रममा विमानस्थलको पूर्वाधार, प्राविधिक अवस्था, सञ्चालन क्षमता र सेवा सुधारका सम्भावनाबारे अध्ययन गरिएको थियो । क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार टरिगाउँ विमानस्थलको विकास तथा विस्तारका सम्भावना अध्ययन गरी हवाई यातायात सेवालाई थप सहज र सुलभ बनाउने लक्ष्य राखिएको छ । विमानस्थलको स्तरोन्नतिबाट पर्यटन प्रवर्द्धन र क्षेत्रीय विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, रारा विमानस्थलको हालको संरचनालाई स्तरोन्नति तथा विस्तार गर्न सकिने सम्भावनाबारे अध्ययन गरिनेछ । आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्न सकिने सम्भावनाको समेत प्राविधिक तथा सम्भाव्यता अध्ययन गर्न मन्त्री पौडेलले निर्देशन दिएका छन् ।
दुवै विमानस्थलको विकासका लागि आवश्यक पूर्वाधार पहिचान, प्राविधिक विश्लेषण र आगामी कार्ययोजना निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिइएको क्यानले जनाएको छ । विमानस्थलको विकास तथा विस्तार प्रक्रिया अघि बढेमा हवाई यातायातको पहुँच विस्तार हुनुका साथै पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।


