काठमाडौं । भारतले नेपालका लागि आफ्नो राजदूतमा सुधाकर दलेलाको नाम पठाएको छ । भारत सरकारले विदेश मन्त्रालयका सचिव (अर्थ सम्बन्ध) देलेलाको नाम प्रस्तावित राजदूतका रूपमा नेपाल सरकारलाई पठाएको हो ।
एग्रिमोका लागि पठाएको नामबारे परराष्ट्र मन्त्रालयले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार एग्रिमोका लागि प्राप्त पत्रको बारेमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायत अन्य सम्बन्धित निकायलाई जानकारी गराउने काम भइरहेको छ ।
ती निकायले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले एउटा निर्णयसहितको एग्रिमो स्विकृत भएको पत्र भारतलाई पठाउने छ । त्यसपछि बल्ल दलेलाले राजदूतका रूपमा आफ्नो कार्यभार सम्हाल्ने छन् । यो प्रक्रिया पूरा गर्न बढीमा एक महिना लाग्ने परराष्ट्र मन्त्रालयका ती अधिकारीले जनाए ।
नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि भारतले दलेलालाई नयाँ राजदूतका रूपमा प्रस्ताव गरेको हो । दलेला सन् १९९३ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरु गरेका हुन् । उनले ब्राजिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डिसीस्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छन् ।
उनी भुटानमा भारतीय राजदूतको रुपमा पनि काम गरेर २०२५ सेप्टेम्बरदेखि विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को रूपमा कार्यरत छन् । प्रधानमन्त्री कार्यालयमा निर्देशकको रुपमा काम गरिसकेका उनले भारतीय विदेश मन्त्रालयमा डाइरेक्टर (उत्तर) (२००६–२००७) र पछि सहसचिव (उत्तर) (२०१६–२०१९) को रूपमा भुटान र नेपाल पनि हेरेका छन् ।
व्यापार तथा आर्थिक नीतिको क्षेत्रका अनुभवी उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशकको रुपमा पनि काम गरिसकेका छन् । त्यस्तै, जेनेभास्थित विश्व व्यापार संगठनका लागि भारतीय स्थायी नियोगमा दुई पटक सेवा गरिसकेका छन् ।
दलेलाले अमेरिकामा विभिन्न पदमा सेवा गरेका छन् । सिकागोमा भारतको महावाणिज्यदूत, वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा राजनीतिक मामिला तथा डेपुटी चीफ अफ मिसन रुपमा उनी काम गरिसकेका छन् ।
उनले भारतको आर्थिक कूटनीति, ‘ग्लोबल साउथ’का देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध, र नयाँ तथा उदीयमान रणनीतिक कार्यहरु हेर्ने गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका उनकी श्रीमती संरक्षणविद् हुन् । उनका एक छोरी अदिति र एक छोरा अनन्त छन् ।
भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिको क्षेत्रमा भारतले नेपालसँग विभिन्न परियोजनामा काम गरिरहेको कारण अर्थ विज्ञलाई राजदूतको रुपमा पठाएको जानकारहरू बताउछन् । दलेला इलेक्ट्रोनिक्स इन्जिनियर भए पनि उनी अर्थ मामिलामा दखल राख्ने गरेका छन् ।


