फुङलिङ । केही समयअघिसम्म स्तुपा, गुम्बा र बौद्धमार्गीका घर–आँगनमा सीमित लुङ्दर पछिल्लो समय हिमाली क्षेत्रका पर्यटकीय स्थलमा समेत देखिन थालेको छ । रंगीचंगी कपडामा बौद्ध धर्मका मन्त्र र धार्मिक प्रतीक अंकित लुङ्दर हावामा फहराउँदा धार्मिक आस्था मात्र नभई पर्यटकीय क्षेत्रको सौन्दर्यसमेत बढाएको छ ।
हिमाली जिल्ला ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रमा अहिले लुङ्दर राख्ने क्रम बढेको छ । रंगीन आयताकार कपडाबाट तयार पारिने लुङ्दरमा ‘ॐ मणि पद्मे हुँ’ लगायत बौद्ध धर्मसँग सम्बन्धित मन्त्र तथा धार्मिक प्रतीक अंकित हुन्छन् । परम्परागत रूपमा स्तुपा, गुम्बा र घरको शिरमा राखिँदै आएको लुङ्दर पछिल्लो समय अग्ला डाँडा, पर्यटकीय स्थल, होटल तथा रेष्टुरेन्टमा समेत राख्न थालिएको छ ।
मिक्वाखोला गाउँपालिका–५ पापुङका नुपु छिरिङ शेर्पाका अनुसार शेर्पा समुदायमा परिवार तथा छिमेकीको सुख, शान्ति र समृद्धिको कामना गर्दै विभिन्न स्थानमा लुङ्दर राख्ने चलन छ । धार्मिक विश्वासअनुसार लुङ्दर हावामा जति धेरै फहराउँछ, त्यति नै शुभ मानिन्छ । हावामा फहरिँदा उत्पन्न हुने तरंगमार्फत लुङ्दरमा लेखिएका प्रार्थना भगवान्सम्म पुग्ने विश्वास रहेको उहाँले बताउनुभयो ।
पापुङकै सन्तोष शेर्पाका अनुसार लुङ्दरको प्रयोग अहिले धार्मिक स्थलमा मात्र सीमित छैन । सवारीसाधन, होटल तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा समेत यसको प्रयोग बढ्दै गएको छ । धार्मिक आस्थासँगै आकर्षक रङ र स्वरूपका कारण पर्यटकीय क्षेत्रमा लुङ्दरले छुट्टै आकर्षण थपेको उहाँले बताउनुभयो ।
फुङलिङकी करुणा तामाङका अनुसार तामाङ समुदायमा नयाँ वर्ष तथा नयाँ समयको सुरुवातमा पुरानो लुङ्दर परिवर्तन गरी नयाँ स्थानमा राख्ने चलन छ । विगतमा भएका नकारात्मक घटना तथा सोचलाई त्यागेर नयाँ सुरुवातको प्रतीकका रूपमा समेत लुङ्दर राख्ने गरिएको उहाँले बताउनुभयो ।
बौद्धमार्गी समुदायमा जन्म, उत्सव, विवाह तथा मृत्यु संस्कारलगायत शुभकार्यमा समेत लुङ्दर प्रयोग गर्ने परम्परा रहेको फुङलिङका मानबहादुर गुरुङले बताउनुभयो । पछिल्लो समय सार्वजनिक रूपमा मनाइने विभिन्न चाडपर्व, धार्मिक तथा ऐतिहासिक कार्यक्रममा समेत यसको प्रयोग बढ्दै गएको उहाँको भनाइ छ ।
आ–आफ्नो समुदाय र संस्कारअनुसार प्रयोग हुँदै आएको लुङ्दर अहिले पर्यटकीय क्षेत्रसम्म विस्तार हुन थालेपछि धार्मिक तथा सांस्कृतिक पहिचानसँगै दृश्य सौन्दर्यसमेत थपिएको स्थानीयको भनाइ छ । हिमाली क्षेत्रका डाँडाकाँडा र पर्यटकीय गन्तव्यमा रंगीचंगी लुङ्दर फहराउँदा पर्यटकको ध्यानसमेत आकर्षित हुने गरेको छ ।


