काठमाडौं । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले छोटो सम्बोधन गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले समय मागे । सभामुख डोलप्रसाद अर्यालले समय दिए ।
त्यसपछि उनले सात शब्दको सम्बोधन गरेका हुन् ।
उनले भने, ‘सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद ।’
सांसद राईले यसो भन्दा सभामुख पनि हाँसे । अनय सांसदहरू पनि गलल हाँसे ।
त्यसपछि सभामुख अर्यालले शून्य समयको कार्यक्रम अगाडि बढाए ।
सांसद राईले पछिल्लो समयमा निरन्तर सरकारसँग केही प्रश्न राख्दै आएका छन् । त्यसको जवाफ नआएकोले उही विषय किन दोहोर्याइरहनु भनेर छोटो सम्बोधन गरेका हुन् ।
सांसद राईले गत सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सात वटा प्रश्न राखेका थिए । जसमा सरकारसँग जवाफ मागेका थिए ।
पहिलो प्रश्नको रुपमा उनले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजेर बसेको भनेर उठाएका थिए ।
दोस्रो प्रश्नको रुपमा उनले भदौ १० गतेको विनाशकारी बाढीको विषय उठाए । यसमा सरकारले के कसो गरिरहेको छ जवाफ खोजेका थिए ।
तेस्रो प्रश्नका रूपमा पछिल्लो समयको बाढी र पहिरोका कारण २१ जनाको मृत्यु भएको सन्दर्भमा प्रधनमन्त्रीको जवाफ खोजेका थिए ।
‘लामो समयदेखि प्रधानमन्त्रीको जवाफ खोजेर बसेका छौं । सायदै चाँडो रकार प्रमुख आएर हामलाई उत्तर दिनुहुन्छ’ उनले भनेका थिए, ‘भदौ १० गतेको विनाशकारी बाढी मात्रै होइन । पछिल्लो लसमयमो बाढीका कारण २१ जनानको मृत्यु भएको छ ।’
भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी गएको हो । त्यसबाट रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्मका नदी तटीय क्षत्रमा ठूलो क्षति भयो । एक हजार चार सय बढी शव फेला परेका छन् । ६ हजार बढी बेपत्ता छन् । अर्बौंको भौत्तिक क्षति भएको छ ।
यस पृष्ठभूमिमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीसँग जवाफ खोजेका हुन् ।
चौथो प्रश्नका रुपमा उनले भरत दाहाल पक्राउको विषय उठाएका थिए ।
सरकारले केही दिन अगाडि राजनीतिक विश्लेषक लेखक भरत दाहाललाई पक्राउ गरेको थियो ।
पछि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाल पक्राउको लिखित कारण पेस गर्न आदेश दिएको थियो ।
पाचौं प्रश्नको रुपमा सांसद राईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको र छाडेको विषय उठाएका थिए ।
जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो । तर कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे प्रहरीले प्रष्ट खुलाएको छैन । यसबीचमा राति नियन्त्रणमा लिएर जबरालाई दिउँसो छाडिएको थियो ।
यी विषयमा प्रधानमन्त्री शाह स्वयमले जवाफ दिनुपर्ने श्रम संस्कृति पार्टीको माग थियो ।
‘घरि भरत दाहाल पक्राउ, गर्यो छोड्यो । घरि चोलेन्द्रशमशेर पक्रियो, छोड्यो’ सांसद राईले प्रश्न गरेका थिए, ‘कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला । होइन भने सरकारले यो कुन हिसावले काम गरिरहेको छ ?’
छैठौं प्रश्नको रुपमा उनले नागरिकमा किन निराशा बाढ्दो छ, किन मानिसहरू आत्मदाह गरिरहेका छन् भनेर प्रश्न गरेका थिए ।
काठमाडौँको त्रिपुरेश्वर क्षेत्रमा साढे दुई महिनाको अन्तरालमा सुरक्षाकर्मी तथा नियमनकारी निकायसँगको विवादपछि भएका दुई वटा आत्मदाहका घटनाहरू भए ।
२०८३ असार २५ गते काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगु सोरु गाउँपालिका १ का २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरे ।
काठमाडौँमा बसेर राइड सेयरिङ (पठाओ आदि) को काम गर्ने उनले आफ्नो मोटरसाइकल राहदानी विभाग अगाडि रोकेका थिए । महानगर प्रहरीले ‘नो पार्किङ’ क्षेत्रमा रोकेको भन्दै उनको मोटरसाइकलमा ह्विल लक लगाइदिए र एक हजार रुपैयाँ जरिवाना माग गरे ।
आर्थिक अभाव, वैदेशिक रोजगारीको तनाव र बारम्बार हुने यस्ता जरिवानाका कारण आक्रोशित भई उनले नगर प्रहरीसँगको नोकझोकपछि मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए ।
२०८३ असोज ४ गते त्रिपुरेश्वर चोकमै बस स्टपमा एक चालकले आगो लगाए । ट्राफिक प्रहरीसँगको विवादपछि उनले आगो लगाएका थिए ।
अनाधिकृत रूपमा हर्न बजाएको वा चिट काट्ने विषयमा ट्राफिकसँग विवाद भएपछि उनले ‘म मर्न तयार छु, मेरो गल्ति छैन’ भनेका भिडियो सार्वजनिक भएको छ ।
यी घटनाले नागरिकमा निराशा रहेको देखाएको भन्दै श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहसँग जवाफ मागेका हुन् ।
सातौं प्रश्नको रुपमा उनले संसद्को भूमिकाको विषय उठाएका थिए । संसद्को गरिमा बढाउन सरकारको योजना खोजेका थिए ।
समग्र घटनामा ‘संसद्लाई समेत थुक्ने वातावरण’ भनेको भनेर सांसद राईले प्रधानमन्त्री शाहको ध्यानाकर्षण गर्दै जवाफ मागेका थिए ।
आफूले राखेका यी विषयको सम्बोधन नभएको भनेर मंगलबारको बैठकमा असन्तुष्टि पोखरेका थिए ।
बिहीबार सरकारले आफ्नो आग्रह नसुनेको भनेर सात शब्दको सम्बोधन गर्दै ध्यान तान्ने प्रयास गरेका हुन् । ‘सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद’ भनेर आफ्नो कुरा सकाएका हुन् ।


