काठमाडौं । रौतहट, गढीमाई नगरपालिका-७ धरमपुरस्थित सडकमा ना.६ त ८४९२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने छोटेलाल यादवका छोरा ६ वर्षीय रितिक यादवको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बेटर नेपाल अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीस्थित सडकमा अमुवाबाट बेथरीतर्फ आउँदै गरेको म.प्र ०३-०२८ प ८१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही धनकौल गाउँपालिका-५ हरकथवा घर भएका ४० वर्षीय धिरज कुमार झाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

