काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्ने जनाउनुभएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विकासशील मुलुकहरूमा बढ्दो वित्तीय आवश्यकता, द्वन्द्व, जलवायु आपत्काल र ऋणको दबाबका बिच विकासका प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्न तीव्र कार्य आवश्यक रहेको जनाउनुभयो।
जीडीआईको पाँचौँ वार्षिकोत्सवका अवसरमा नेपालका तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई बधाई दिँदै उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको उक्त इनिसिएटिभलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले निरन्तर गर्दै आएको प्रयासको प्रशंसा गर्नुभयो। मन्त्री खनालले भन्नुभयो, “पाँच वर्षको अवधिमा जीडीआई विकासशील विश्वभर साझेदारी, स्रोत परिचालन, ज्ञान आदानप्रदान र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विस्तार भएको छ।”
गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, विकास वित्त, हरित विकास, औद्योगिकीकरण र डिजिटल अर्थतन्त्रमा जीडीआईका प्राथमिकताले ‘ग्लोबल साउथ’ का धेरै प्राथमिकतालाई सम्बोधन गर्ने उहाँले बताउनुभयो।
सन् २०३० को लक्ष्यतर्फ विश्व अन्तिम चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै मन्त्री खनालले पहुँचयोग्य दिगो विकास लक्ष्यका केवल ३६ प्रतिशत लक्ष्य मात्र सही दिशामा वा मध्यम गतिमा प्रगति भइरहेको बताउनुभयो। विकासशील मुलुकहरूले वार्षिक करिब ४ ट्रिलियन अमेरिकी डलरको एसडीजी वित्तीय अन्तर सामना गरिरहेको उल्लेख गर्दै उहाँले द्वन्द्व, जलवायु संकट र ऋणको दबाबले चुनौती थपिएको बताउनुभयो। “त्यसैले बाँकी वर्षहरू अझै तीव्र कार्यान्वयनका वर्ष हुनुपर्छ,” उहाँले भन्नुभयो।
नेपाल जीडीआईको ‘ग्रुप अफ फ्रेन्ड्स’ मा सहभागी भइसकेको उल्लेख गर्दै मन्त्री खनालले व्यावहारिक सहकार्य र दक्षिण–दक्षिण साझेदारीमा यसको जोडलाई नेपालले महत्त्व दिएको बताउनुभयो।
नेपालमा गत २६ अगस्टमा आएको रसुवा–भोटेकोसीको आकस्मिक बाढीलाई स्मरण गर्दै उहाँले प्राकृतिक विपद्ले उत्थानशील विकासको आवश्यकता थप स्पष्ट पारेको बताउनुभयो। बाढीले नेपाल र चीन दुवैतर्फका सीमावर्ती समुदायलाई प्रभावित गर्दै जनधन तथा महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुर्याएको उल्लेख गर्दै उहाँले यसलाई नेपाल र चीन दुवैका लागि साझा दुःखद घटनाका रूपमा व्याख्या गर्नुभयो।
“यी कठिन दिनहरूमा नेपाल र चीन एकसाथ उभिए। चीन सरकार र चिनियाँ जनताबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति नेपाल गहिरो आभार व्यक्त गर्दछ,” मन्त्री खनालले भन्नुभयो।
उहाँले विकासको गति जत्तिकै त्यसको दिगोपन र उत्थानशीलता पनि महत्त्वपूर्ण हुने बताउनुभयो। “उत्थानशीलता हाम्रो पूर्वाधार, संस्था र समुदायमा निर्माण गरिनुपर्छ,” उहाँले भन्नुभयो।
नेपालले आफ्नो विकासका आकांक्षा अघि बढाउँदै गर्दा गरिबी न्यूनीकरण, कृषि तथा खाद्य सुरक्षा, नवीकरणीय ऊर्जा, उत्थानशील पूर्वाधार, विपद् तयारी, डिजिटल रूपान्तरण र मानव स्रोत विकासका क्षेत्रमा जीडीआई सहकार्यको महत्त्वपूर्ण सम्भावना रहेको मन्त्री खनालले बताउनुभयो।
उत्पादन क्षमता अभिवृद्धि, ज्ञान तथा प्रविधि हस्तान्तरण, सीप विकास तथा आफ्नै क्षमतामार्फत अवसर विस्तार गर्न सहयोग पुर्याउने सहकार्यलाई नेपालले विशेष महत्त्व दिएको उहाँले उल्लेख गर्नुभयो।
मन्त्री खनालले जीडीआई र संयुक्त राष्ट्रसंघीय प्रणालीबिच बढ्दो सहकार्यको पनि स्वागत गर्नुभयो। संयुक्त राष्ट्रसंघको विश्वव्यापी जनादेश तथा विकाससम्बन्धी विशेषज्ञताले यस्ता सहकार्यलाई दिगो विकास लक्ष्य र राष्ट्रिय प्राथमिकतासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो।
सन् २०१९ मा आफ्नो ऐतिहासिक नेपाल भ्रमणअघि राष्ट्रपति सीले नेपाल र चीनका दुई उखान स्मरण गर्नुभएको उल्लेख गर्दै मन्त्री खनालले नेपाली भनाइ “थोपा–थोपा पानीले घैँटो भरिन्छ” र चिनियाँ भनाइ “सबैले दाउरा थपे आगोको ज्वाला झन् ठुलो हुन्छ” लाई उद्धृत गर्नुभयो।
सन् २०३० नजिकिँदै गर्दा यी भनाइको व्यापक महत्त्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हरेक योगदानको महत्त्व हुन्छ र हाम्रा सामूहिक प्रयासहरू एकत्रित भएर अझ ठुलो उपलब्धिमा परिणत हुन सक्छन्।”
नेपालले जीडीआईलाई स्रोत, अनुभव र क्षमतालाई एकीकृत गर्दै सहकार्यलाई ठोस प्रगतिमा रूपान्तरण गर्ने माध्यमका रूपमा हेरेको मन्त्री खनालले बताउनुभयो। जीडीआईको पाँच वर्ष पूरा भएको अवस्थामा अबको कार्यभारलाई अझ उद्देश्यपूर्ण र व्यावहारिक कार्यमार्फत अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
“सन् २०३० सम्मका वर्षहरूले हाम्रा प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्ने सामूहिक क्षमताको परीक्षण गर्नेछन्,” उहाँले भन्नुभयो।
मन्त्री खनालले यस प्रयासमा चीन, संयुक्त राष्ट्रसंघ र सबै साझेदारसँग सहकार्य गर्न नेपाल तयार रहेको बताउँदै जीडीआईको आगामी चरण जनताका लागि ल्याउने प्रगति र भावी पुस्ताका लागि खोल्ने सम्भावनाले परिभाषित हुने विश्वास व्यक्त गर्नुभयो।


