नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पुनः सडक भासिएको छ । गत भदौ १४ गते राजमार्ग भासिएर अवरुद्ध भएको थियो । त्यसको १८औँ दिन अर्थात् असोज १ गते डाइभर्सनमार्फत सडक पुनःस्थापना गरी राजमार्ग सञ्चालनमा ल्याइएको थियो । तर, शुक्रबार बिहान पुनः सडक भासिएको हो ।
पृथ्वी राजमार्ग मुग्लिन–नौबिसे आयोजना पश्चिम खण्डका इन्जिनियर धीरन ढकालका अनुसार राजमार्ग सञ्चालनका लागि निर्माण गरिएको डाइभर्सन सडकसँगैको ग्याबिन वाल भासिएर त्रिशूली नदीतर्फ खसेको हो ।
“करिब २५ मिटर क्षेत्र सडक भासिएको छ । सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि कृष्णभिरको जोखिम कायमै रहेको छ,” उहाँले भन्नुभयो । त्रिशूली नदीको निरन्तर कटानका कारण सडक भासिने क्रम नरोकिएको उहाँले बताउनुभयो ।
राजमार्ग भासिए पनि तत्काल पूर्ण रूपमा अवरुद्ध हुने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो । कृष्णभिरमा सडक भासिनुसँगै माथिबाट पहिरोसमेत झरेको थियो । उक्त पहिरो भने सफा गरिएको बताइएको छ । सडक तथा भिरको स्थिरीकरण र मजबुतीकरणको काम भइरहेका बेला पुनः सडक भासिएको हो ।
आयोजनाकी प्रमुख सजना अधिकारीले अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध रहेकाले पहिरो झरेको स्थानमा सफा गर्ने काम भइरहेको बताउनुभयो ।
“हाल सञ्चालनमा रहेको सडकलाई मध्यकालीन रूपमा सुरक्षित बनाउन भिर स्थिरीकरण तथा मजबुतीकरण, बायोइन्जिनियरिङ, पानीको उचित निकासका लागि नाली निर्माण तथा सडक सतह कालोपत्रेसम्मका काम गर्न बाँकी रहेको छ,” उहाँले भन्नुभयो ।
इन्जिनियर ढकालले वर्षाको जोखिमलाई ध्यानमा राखेर कृष्णभिरमा सुरक्षाका उपाय अपनाइएको बताउनुभयो ।
“वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राखेर कृष्णभिरमा तत्कालीन सुरक्षाका उपायसमेत अपनाइएको छ । काटिएको भिर तथा त्यहाँ अड्किएका खुकुला माटोलाई पानी प्रवेश गर्न नदिन प्लास्टिक तथा त्रिपालले छोपिएको छ । यसबाट माटो भिज्न नदिई पहिरोको जोखिम कम गर्नुका साथै भित्तातर्फको सतहमुनिको नालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।
कृष्णभिरमा पछिल्लो पटक गएको पहिरोको बीच भागमा देखिएको चिरालाई रातो माटो र सिमेन्टको मिश्रण प्रयोग गरी ‘क्र्याक सिलिङ’ गरिएको छ । सिल गरिएको भागलाई प्लास्टिकले छोपेर माथिबाट आउने वर्षाको पानीलाई नियन्त्रण गरी दायाँ–बायाँका क्यास्केडतर्फ निकास दिने व्यवस्था गरिएको छ । चिराभन्दा माथिल्लो जमिनमा वर्षाको पानी सङ्कलन गरी सुरक्षित रूपमा निकास गर्न ‘क्याच ड्रेन’ निर्माणको तयारी भइरहेको पनि बताइएको छ ।
पुरानो सडकमा परेका चिरा सफा गरी थप फैलिन नदिन ‘क्र्याक सिलिङ’ गरिएको अवस्थामा नयाँ सडक भासिएको हो ।
कृष्णभिरको माथिल्लो भागमा यसअघि नै १० देखि १५ मिटरसम्म लम्बाइका पाँचदेखि सातवटा चिरा परेका थिए । राजमार्ग खुलाउन कृष्णभिरमा करिब २७० मिटर लामो र साढे सातदेखि १० मिटरसम्म चौडा डाइभर्सन सडक निर्माण गरिएको थियो । भित्तातर्फ पाँचदेखि ३० मिटरसम्मको उचाइमा कटान गरी बनाइएको डाइभर्सनमा उच्चस्तरको ग्राभेल प्रयोग गरी ४० सेन्टिमिटर मोटाइको सब–बेस राखिएको छ । माथिल्लो भिरलाई सुरक्षित राख्न ‘बेन्चिङ’ प्रविधिसमेत अपनाइएको छ । भिरलाई एकैपटक ठाडो रूपमा कटान नगरी खण्ड–खण्डमा भर्याङजस्तो स्वरूपमा काट्ने प्रविधिलाई बेन्चिङ भनिन्छ ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा पहिरैपहिरो
कृष्णभिरमा सडक भासिने क्रम जारी रहेका बेला धारापानी क्षेत्रमा पनि सडक भासिएको छ । उक्त क्षेत्रमा करिब २० मिटर सडक भासिएको इन्जिनियर ढकालले जानकारी दिनुभयो ।
यसका अलावा पृथ्वी राजमार्गको मुग्लिन, ज्यामिरेघाट, परेवा भिर, शीतलबजारलगायत दर्जनौँ स्थानमा पहिरो गएको छ ।
यता नारायणगढ–मुग्लिन सडकखण्डमा पनि ८० भन्दा बढी स्थानमा ठुलासाना पहिरो गएको छ । उक्त सडकको ३१ किलोमा राजमार्ग भासिएको छ भने कालिखोला, सिमलताल, तुइन खोला, नाम्सी खोला, चार किलो, मौरी खोलालगायत क्षेत्रमा ठूला पहिरो जाने क्रम जारी छ ।


