काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्भावित बाढी, डुबान तथा अन्य मौसमजन्य जोखिमलाई ध्यानमा राखेर जोखिमयुक्त क्षेत्र र विद्यालयमा निगरानी बढाएको छ।
देशका विभिन्न स्थानमा निरन्तररूपमा वर्षा हुन जारी रहेपछि महानगर विपत् व्यवस्थापन समितिको बैठकले सम्भावित भारी वर्षा, बाढी, डुबान र पहिरोको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य प्रणाली सक्रिय बनाउने निर्णय गरेको हो। जोखिमयुक्त क्षेत्रमा रहेका विद्यालयको अवस्था मूल्यांकन गरी आवश्यक परे विद्यालय सञ्चालन तथा पठनपाठन स्थगित गर्ने जिम्मेवारी शिक्षा विभागलाई दिइएको छ।
महानगरले नदीकिनारमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा निगरानी बढाउने तथा ढल, मंगाल र क्याचपिट सफाइलाई तीव्रता दिने जनाएको छ। उद्धारका लागि आवश्यक सामग्री, सवारीसाधन र नगर प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ। सम्भावित विपतका वेला नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न विद्यालय तथा मानव सेवा आश्रमलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्ने तयारीसमेत गरिएको महानगरले जनाइएको छ।
महानगरले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा जल तथा मौसम विज्ञान विभाग, जिल्ला प्रशासन कार्यालय र महानगरबाट जारी हुने आधिकारिक सूचना पालना गर्न आग्रह गरेको छ।


