पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।
मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ।
मेयर धनराज आचार्यका अनुसार पठनपाठन बन्द गरिएको यी दुई दिनको अवधि पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने छ । मेयर आचार्यले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै महानगरले विपद्को यस जोखिमपूर्ण अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्विनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएको छ् ।


